Kakhara सबैको खबर सम्पूर्ण खबर
‘आगामी निर्वाचनमा संविधान अनुसार महिला प्रतिनिधित्व गराउ’
कार्यक्रमका सहभागीहरू ।

रुकुम पश्चिमका महिला अधिकारकर्मीहरुले आगामी निर्वाचनमा पहिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । संविधानले तोके वमोजिम प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न उनिहरुले आग्रह गरेका हुन् । 

मानव अधिकारका लागि महिला एकल महिला जिल्ला सञ्जाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता विषयक छलफल कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरुले यो वा त्यो वाहनामा महिला प्रतिनिधित्वलाई कम गर्ने कुरा स्विकार नहुने बताएका हुन् । 

गठबन्धनका नाममा महिला प्रतिनिधित्व कम हुनसक्ने तर्फ उनिहरुले दलहरुलाई सचेत गराएका छन् । ‘हिजो स्थानीय तहको निर्वाचनमा गठबन्धनका कारणले संविधानले नै तोके अनुसार महिलाको प्रतिनिधित्व हुन सकेन, आगामी निर्वाचनामा पनि त्यस्तै हुने देखिन्छ, महिलाको प्रतिनिधित्व कम हुने कुरा स्विकार्य छैन्, कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरुले भने ।’

कार्यक्रममा सहभागि दलका प्रमुख तथा प्रतिनिधिहरुले निर्वाचनमा महिला सहभागिताका लागि गम्भिर रहेको बताएका छन् । तर पुरषवादी चिन्तन बढी नै हावी भएका कारण सोचेअनुसार प्रतिनिधित्व भने हुन नसकेको उनीहरुले स्वीकारेका छन् । महिलाहरु पनि सशक्त रुपमा प्रस्तुत हुनेपर्ने र सो अनुसार क्षमता विकासमा लाग्न जरुरी रहेको दलका प्रतिनिधिहरुको भनाई थियो । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले महिलाहरु क्रमिक रुपमा नेतृत्वमा पुग्दै गएपनि त्यो प्रयाप्त नभएको बताउनुभयो । विभिन्न चिन्तनका कारण महिलाहरु नेतृत्वमा पुग्न नसकेको र महिलालाई पछाडी पार्ने काम भएको उहाँको भनाई छ ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update