रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । वडा नम्बर ९ कोे सिम्लीमा आज गाउँपालिकाको प्रशासकीय भवनको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले शिलान्यास गर्नुभएको हो । प्रशासकीय भवन हालको गाउँपालिका कार्यालय नजिकै निर्माण हुन लागेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंह घर्तीले जनकारी दिनुभयो । उहाँका अनुसार प्रशासकीय भवन निर्माणको लागि ८ करोड ५७ लाख रकम खर्च हुने छ ।
जसको ६० प्रतिशत अर्थात ५ करोड १४ लाख २० हजार रकम संघीय सशर्त अनुदान अन्तरर्गत प्राप्त भएको छ । ४० प्रतिशत अर्थात ३ करोड ४२ लाख ८० हजार रकम भने गाउँपालिकाले बेहोर्ने छ । प्रशासकीय भवन ४ तलाको निर्माण हुँदा ३३ कोठा, शौचालय र एउटा सभाहल बन्ने प्रवक्ता घर्तीले बताउनुभयो । २०८१ साल असार मसान्तसम्म काम सक्नेगरि आशिष रेडिक्रेट जेभीले भवन निर्माणको जिम्मा लिएको छ । पहिलो स्थानीय सरकार बनेपछि गाउँपालिकाको प्रशासनिक काम वडा नम्बर ९ को सिम्ली देखि सञ्चालन भइरहेको छ ।