रुकुम पश्चिममा साढे १७ सय जनाले कोरोना भाईरस विरुद्धको खोप पाएका छन् । गत माघ १४ गतेबाट सुरु भएको पहिलो चरणको खोप कार्यक्रम अन्तरगत आजसम्म जिल्लामा १७ सय ५९ जनाले खोपको पहिलो डोज पाएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । पहिलो चरणको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सफाईकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स चालक, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी लगायतले खोप पाएकामा पहिलो चरणको दोस्रो प्राथमिकतामा पत्रकार, बैंकका कर्मचारी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि, स्थानीय कर्मचारी, न्याय समुहका व्यक्तिहरु लगायतले खोप पाएका हुन् ।
अहिलेसम्म १३ सय ७५ पुरुष र ३ सय ८३ जना महिलाले खोपको पहिलो डोज पाएको स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । जिल्ला अस्पताल सहित अन्य विभिन्न ठाउँमा खोप केन्द्रहरु तोकेर खोप लगाईएको उहाँले बताउनुभयो । अव फागुन २३ गतेबाट दोस्रो चरणको खोप कार्यक्रम सुरु हुने उहाँको भनाई छ । दोस्रो चरणमा जेष्ठ नागरिक, शिक्षक, यातायात सेवामा काम गर्ने व्यक्तिहरु लगायत पहिलो चरणमा छुटेकाहरुलाई खोप दिईने बताईएको छ ।
जिल्लामा कोरोना विरुद्धको खोप लगायका सबैको अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । सामान्य लक्षण बाहेक जटिल समस्या कसैमा पनि नदेखिएको खोप सुपरभाईजर अधिकृत खड्काले बताउनुभयो ।