महालक्ष्मी विकास बैंक लिमिटेड रुकुम पश्चिमले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई राउण्ड टेबल सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ९५ हजार हजार बराबरको राउण्ड टेबल हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
साथै प्रहरीको सभा हल रङ्गरोगन तथा मर्मत पनि गरिएको छ । आज एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरिएको बैंकका शाखा प्रबधन्क खगेन्द्रकुमार बुढाले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत राम्रो काम गरेको भन्दै खुशि व्यक्त गर्नुभयो ।
त्यस्तै जिल्ला प्रहरी प्रमुख बिष्णुप्रसाद सोतीले आफुहरुको अनुरोध अनुसार बैंकले सहयोग गरेको र यसले जिल्ला प्रहरी कार्यालयको दैनिक कार्य संचालनमा सहयोग पुग्ने भन्दै धन्यवाद दिनुभयो । अव कार्यालयले संचालन गर्ने विभिन्न सेमिनार, गोष्टी, तालिम लगायतका कार्यक्रम गर्न सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
आगामी दिनमा पनि बैंकसंग सहकार्य गर्दै जाने उहाँले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तरगत वर्षेनी विभिन्न सहयोगका कार्यक्रमहरु गर्ने गरेको र सो अनुसार यो वर्ष जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको बैंकका प्रवन्धक बुढाले बताउनुभयो । यो सहयोगबाट प्रहरी कार्यालयको कार्य संचालनमा टेवा पुग्ने विश्वास उहाँले गर्नुभयो ।
बैंकले नेपाल भर आफ्ना करिव ५ लाख ग्राहकलाई १ सय ३ वटा शाखा कार्यालय र ३४ वटा एटिएम बुथबाट ३ सय ६५ दिन नै बित्तीय सेवा प्रदान गर्दै आएको बताईएको छ ।