Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा दीर्घकालीन फोहर व्यवस्थापनका लागि समिति गठन  

रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा दीर्घकालीन फोहोर व्यवस्थापनको लागि समिति निर्माण गरिएको छ । शुक्रबार १ नम्बर वडा कार्यालय खलंगामा बसेको वैठकले वडाध्यक्ष ज्ञानुचन्द्र चन्दको संयोजकत्वमा ५ सदस्यीय फोहर व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा २ नम्बर वडा अध्यक्ष दिनेश खड्का, ५ नम्बर वडा अध्यक्ष समिरजङ मल्ल, वडा नम्बर २ का स्थानीय खम्बु खड्का र रतिभान खड्का रहनुभएको छ । 

अहिले मुसीकोटको फोहर वडा नम्बर २ को सतीपोलेमा फाल्ने गरिएको छ । उक्त ठाउँमा त्यहाँका स्थानीयहरुले फोहर फाल्न बेलाबेलामा अवरोध गर्दै आएका छन् । तर नगरपालिकाले उक्त ठाउँमै फोहर फाल्ने गरेको छ । पछिल्लो पटक त्यहाँका स्थानीय फोहर फाल्न नदिएपछि फोहर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न समिति निर्माण गरिएको संयोजक तथा वडा नम्बर १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले बताउनुभयो । स्थानीयले वातावरण प्रदुषित भएको भन्दै फोहर फाल्न बेला बेला अवरोध गर्दै आएका छन् । 

समिति गठन भएपछि भने स्थानीय फोहर फाल्न दिन सहमत भएका छन् । स्थानीयहरुले फोहोर फाल्न नदिएपछि खलंगा बजारको फोहर २ दिनसम्म उठ्न सकेको थिएन । स्थानीय २ जनालाई राखेर  फोहर व्यवस्थापन गर्ने गरी समिति गठन भएपछि स्थानीय तत्काललाई फोहर फाल्न दिन सहमत भएका हुन् । त्यस्तै फोहोरलाई माटोले पुर्ने र दुर्गन्ध नफैलियोस भनेर किटनाशक औषधि छर्किने सहमति पनि भएको छ ।  

फोहर व्यवस्थापनका लागि बनेको समितिले वडा नम्बर १, २ र ३ का कुन ठाउँमा दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्न सकिन्छ भनेर अध्यन गर्नेछ । सोही अध्यनको आधारमा समितिले नगरपालिकालाई प्रतिवेदन वुझाउने र त्यसको आधारमा नगरपालिकाले फोहर व्यवस्थापनको काम अगाडी बढाउने बताइएको छ । 

मुसीकोटको फोहर व्यवस्थापनका लागि समिति गठन भएको यो पहिलो पटक भने होइन् । यसअघि तत्कालिन देविलाल गौतम नेतृत्वको सरकारले पनि फोहर व्यवस्थापनका लागि समिति बनाएको थियो । स्थानीयले सतिपोलेमा फोहर फाल्न नदिएपछि अहिले गठित समितिलाई जस्तै कार्यअधिकार सहित गठित उक्त समितिले काम गर्न सकेको थिएन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update