रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा भोली देखि वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा मुसीकोट खलंगास्थित बराहटाकुरामा खुला वडा स्तरीय पुरुष भलिबल हुन लागेको हो ।
भोली १० बजे प्रतियोगिता उद्घाटन हुने प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी पुरा भएको छ । यसअघि भाद्र २५ गते शनिबार देखि प्रतियोगिता सुरु गर्ने गरी आयोजकले मिति तोकेको थियो । तर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण एक दिन ढिला गरी प्रतियोगिता सुरु हुन लागेको अध्यक्ष बुढाले बताउनुभयो ।
यसअघि भाद्र २५ देखि भाद्र ३० गतेसम्म प्रतियोगिता मिति तोकिएको थियो । आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने छ । उप विजेताले नगद ५० हजार प्राप्त गर्दा तृतिय हुनेले नगद ३० हजार पुरस्कार पाउने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष बुढाले बताउनुभयो ।
उहाँका अनुसार विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट लिबोरो, वेष्ट लिफ्टर, वेष्ट व्लकर र वेष्ट क्विकर छनौट गरी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरले नगद ५ हजार र अन्यले नगद २÷२ हजार पुरस्कार पाउने बताईएको छ । प्रतियोगितामा सहभागिताका लागि अहिलेसम्म विभिन्न २६ वटा समुहले टिम दर्ता गराएको आयोजकको भनाई छ ।
रुकुम पश्चिम, पूर्व र रोल्पाबाट टिम दर्ता भएको र भोलीसम्ममा केही टिम थपिन सक्ने आयोजकको विश्वास छ ।