Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट खलंगामा खुला वडा स्तरीय पुरुष भलिबल सुरु 
प्रतियाेगिताकाे उद्घाटन गर्दै नगर प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ खलंगामा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा खलंगास्थित बराहटाकुरामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । 

प्रतियोगितामा रुकुम पश्चिम, रोल्पा र रुकुम पूर्वका गरी २९ वडाको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता भाद्र ३० गतेसम्म चल्ने आयोजक पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने छ । उप विजेताले नगद ५० हजार प्राप्त गर्दा तृतिय हुनेले नगद ३० हजार पुरस्कार पाउने छ । त्यस्तै विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट लिबोरो, वेष्ट लिफ्टर, वेष्ट व्लकर र वेष्ट क्विकर छनौट गरी पुरस्कृत गरिने छ । 

वेष्ट प्लेयरले नगद ५ हजार र अन्यले नगद २÷२ हजार पुरस्कार पाउने बताईएको छ । यसअघि भाद्र २५ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनौटका कारण एक दिन ढिला गरी प्रतियोगिता सुरु भएको आयोजकले जनाएको छ ।

आयोजक समितिका अध्यक्ष तेज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्मा र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update