रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका शिक्षकहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ । नगर भरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई आज आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको हो ।
विद्यार्थीको आँखामा विशेष ध्यान दिएर दृष्टि दोषका कारणले बाल अन्धोपनको समस्या नहोस भन्ने उदेश्यले एन.ए.वि.पि. नेर्वेको आर्थिक र चौरजहारी नगरपालिकाको समन्वयमा राप्ती आँखा अस्पताल तुलसिपुरले शिक्षकलाई तालिम दिएको हो ।
शिक्षकहरुलाई विद्यार्थीको दृष्टि परीक्षण गर्ने देखि आँखालाई कसरी स्वस्थ राख्ने, आँखामा समस्या देखिए के गर्ने भन्ने जस्ता विषयमा सिकाईएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर खत्रीले जानकारी दिनुभयो । नगरका ३७ विद्यालयका ४२ जना शिक्षकले तालिम पाएको उहाँको भनाई छ ।
वार्षिक कार्यक्रम अनुसार यो कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । यसअघि गत वर्ष यो कार्यक्रम मुसीकोट नगरपालिकामा संचालन भइसकेको छ । शिक्षकहरुलाई राप्ती आँखा अस्पताल तुलसिपुरका बाह्य कार्यक्रम संयोजक, नेत्र अधिकृत शालिग्राम गौतम र आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर खत्रीले सिकाउनुभएको थियो ।
राप्ती आँखा अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता रहेको थियो ।