Kakhara सबैको खबर सम्पूर्ण खबर
नागरिक जागरणमा नेपाल प्रहरी 
नागरिक जागरण अभियान कार्यक्रम उद्घाटन समारोहका सहभागि अतिथिहरू ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको संयुक्त आयोजनामा नागरिकलाई जागरण कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम र उपभोक्ताको हक सम्बन्धि जागरण कार्यक्रम सञ्चालन गरिएको हो । 

मङ्गलबार सिस्ने गाउँपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालय पोखरामा नागरिक जागरण कार्यक्रमको उद्घाटन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय मार्फत प्रहरीले नागरिक जागरण अभियान सुरु गरेको हो । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ प्रहरीले नागरिक जागरण कार्यक्रम सुरु गरिएको छ । 

लागु औषध बिक्री वितरण रोकथाम, चाडपर्वको समयमा शान्ति सुरक्षा र उपभोक्ताको हक सम्बन्धि सचेतनामुलक कार्यक्रम लिएर जिल्लाका विभिन्न माध्यमिक विद्यालय मार्फत नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने छ । 

जस अन्तर्गत पहिलो दिन मङ्गलबार मावि पोखरामा कक्षा ९–१२ का विद्यार्थीलाई लागु औषधको असर, चाडपर्वको समयमा शान्ति सुरक्षा र उपभोक्ताको हक सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताउनुभयो । 

यस चरणको कार्यक्रम सिस्ने, पुथाउत्तरगङ्गा र भूमे गाउँपालिका ३/३ माविलाई छनोट गरिएको डीएसपी डाँगीले जानकारी दिनुभयो । सिस्नेमा मावि पोखरासँग सिस्ने–८ को सानीभेरी मावि लम्पाकोट र सिस्ने–५ कोट मावि रुमालबारामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने डाँगीले जानकारी दिनुभयो । 

यसैगरी भूमे–२ को त्रिवेणी मावि काँक्री, भूमे–३ को शहिद शुक्र मावि सिमा र भूमे–६ को जनजागृत मावि महतमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ भने पुथाउत्तरगङ्गाका वडा नम्बर ५ को देउराली मावि हुकाम, १२ को पर्वत मावि कोल र १४ को सिद्धमण्डली मावि राङ्सीमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रत्येक विद्यालयमा एक घण्टा ३० मिनेटको समयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ । 
सचेतनामुलक कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले नकरात्मक क्रियाकलापलाई निषेध गर्दै जानका लागि यस कार्यक्रमको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । लागु औषध रोकथाम, शान्ति सुरक्षा कायमका साथै उपभोक्ताको हक संरक्षणका निम्ति स्वयम नागरिकलाई सतर्क बनाउनु पर्ने जिसस प्रमुखको भनाइ रहेको थियो । विद्यालय तहबाटको यस सचेतना कार्यक्रमले भावी पुस्तामा सकारात्मक सन्देश प्रभाह हुने उहाँको धारणा रहेको थियो । 

यसैगरी शान्ति सुरक्षा कायम तथा अमनचयनलाई कुनै पनि किसिमको खल्ल आउन नदिनमा पूर्व गृहकार्य नै नागरिक जागरण अभियान रहेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । नियम, कानुन सम्बन्धि कुरा नागरिकलाई जानकार गरिराखेमा मात्र पनि समाजमा घट्ने घटना कमी हुँदै जाने रेग्मीले बताउनुभयो । 

सिक्नु पर्ने कुराहरू जो कोही व्यक्ति सानाबाट धेरै प्रभावित हुने भएकाले नागरिक जागरण अभियान विद्यालय मार्फत सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । विद्यालयमा विद्यार्थीलाई सिकाएका कुरा विद्यार्थी मार्फत आफ्ना घरपरिवार हुँदै समाजमा घटना न्यूनिकरणका सन्देश छिट्टै फैलिने प्रजिअ सुनुवारले बताउनुभयो । 

सचेतनामुलक औपचारिक उद्घाटन कार्यक्रमको सभाध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिहरूमा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश डाँगी, नेपाली सेनाका सेनानी बाबुलाल जिसी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सञ्जीवकुमार चौधरी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगी, शसस्त्र प्रहरीका प्रहरी निरीक्षक सत्यकुमार बुढाथोकी, सिस्ने–३ का वडाध्यक्ष हेराम खड्का, मावि पोखराका विव्यस अध्यक्ष नन्दराम लामेछाने, प्रअ कलु खड्का लगायतको आतिथ्यता रहेकोमा कार्यक्रम सञ्चालन प्रहरी सहायक निरीक्षक दामोदर न्यौपानेले गर्नु भएको थियो ।  

उद्घाटन समारोहका केही तस्बिरहरुः 


 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update