रुकुम पश्चिमको आठबीसकोट नगर अस्पतालले गर्भवतीका लागि २ वटा सेवा निःशुल्क गरेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार नगर अस्पतालमा गर्भजाँच र भिडिओ एक्सरे सेवा निःशुल्क गरिएको हो । अवदेखि नगर अस्पतालमा पहिलो पटक गर्भजाँच र भिडिओ एक्सरे गरेको पैसा नलाग्ने अस्पतालले जनाएको छ ।
गर्भजाँचलाई प्रभावकारी बनाउने उद्ेश्यले पहिलो पटक गर्भ जाँच र भिडिओ एक्सरे गर्दा पैसा नलिने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले निर्णय गरेको अस्पताल प्रमुख धनञ्जय रिजालले जानकारी दिनुभयो । आज एक सूचना जारी गर्दै गर्भजाँचमा लाग्ने सम्पूर्ण टेस्ट र भिडिओ एक्सरे पहिलो पटकका लागि पूर्णरुपमा निःशुल्क गरिएको जनाईएको छ ।
यो सेवा आज देखि संचालनमा आएको छ । यो सेवाले नियमित गर्भजाँचमा टेवा पुग्ने अस्पतालले विश्वास लिएको छ । आर्थिक अभावका कारण पनि गर्भवती महिलाले नियमित गर्भ जाँच नगराएको अवस्थामा नगर अस्पतालमा निःशुल्क जाँचको व्यवस्था गरिएको हो ।
यो कार्यक्रमले शिशु तथा मातृ स्वास्थ्यमा सुधार आउने र मृत्युदरमा कमी आउने विश्वास गरिएको नगर अस्पतालले जनाएको छ । आठबीसकोट नगर अस्पताल जिल्लामा स्थानीय तहले संचालन गरेको पहिलो अस्पताल हो ।