रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा अब आँखा उपचार सेवा पनि सुरु हुने भएको छ । नगर अस्पतालले आँखाको चेकजाँच तथा उपचारका लागि आवश्यक तयारी गरेको छ । चैत्रको दोस्रो साताबाट सेवा प्रवाह थालिने नगरपालिकाले जनाएको छ । त्यसका लागि नगरपालिकाले एक जना नेत्रज्योती सहायक नियुक्त गरेको छ । अर्को एक जना कर्मचारी पनि नियुक्तिको तयारी भइरहेको छ । सुर्खेत आँखा अस्पतालको सहयोगमा आँखा उपचार सेवा सुरु गर्न लागिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।
९ लाख मूल्य बराबरका सामग्री सुर्खेत आँखा अस्पतालले आठबीसकोट नगर अस्पताललाई सहयोग गरेको छ । कर्मचारीलाई तालिम पनि दिइएको नगरपालिकाले जनाएको छ । आँखाको आधारभुत उपचारका लागि सेवा सुरु गर्ने नगरप्रमुख केसीले बताउनुभयो । आँखाको आधारभुत चेकजाँच, उपचार, चश्मा निर्माणको साथै माइनर अप्रेशन सम्मको काम गर्ने गरी तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो । चैत्र महिनामा नगरपालिकामा निःशुल्क आँचा उपचार शिविर आयोजना गरिने त्यसै अवसरमा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु गर्ने उहाँले बताउनुभयो ।
आठबीसकोट नगर अस्पताल बनाउने पहिलो स्थानीय तह हो । नगरपालिकाले २०७५ सालको असोज १२ गते नगर अस्पताल उद्घाटन गरेको थियो । त्यसयता नगर अस्पतालबाट सर्वसाधारणले चिकित्सकिय सेवा पाइरहेका छन् । सकेसम्म आधारभुत खालका सबै सेवा प्रवाह गर्ने योजना रहेको नगरप्रमुख केसीले बताउनुभयो । अस्पतालको सेवा प्रवाह चुस्त,व्यवस्थित र सर्वसुलभ बनाउन अस्पताल भवन निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ ।