रुकुम पश्चिममा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन । गएको आर्थिक वर्ष २०७८ को साउन १ गतेदेखि २०७९ को भदौ २९ सम्म जिल्लामा २६ वटा आत्महत्याका घटनाहरु भएका छन् । शैक्षिक सफलता नपाउनु, पारिवारिक समस्या, रोजगारी गुमाउनु, सानै उमेरमा प्रेममा फस्नु, ऋण धेरै लाग्नु जस्ता समस्याले पछिल्लो समय आत्महत्याका घटनाहरु बढेको प्रहरीको भनाई रहेको छ ।
जिल्लामा आत्महत्यासंगै आत्महत्या प्रयासका घटनाहरु पनि उत्तिकै मात्रामा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले बताउनुभयो । उहाँका अनुसार गएको आर्थिक वर्षमा २८ वटा आत्महत्या प्रयास भएका छन् । प्रहरीमा खबर आएकाका घटना मात्रै प्रहरीसंग हुने भएकाले गाउँ समाजमा आत्महत्या घटनाहरु अझ धेरै हुन सक्ने उहाँको भनाई छ ।
हरेक व्यक्ति समाजसंग जोडिएकाले समाजको नियन्त्रण ज्यादा हनु, समाजको नियन्त्रण हुँदै नहुनु, आफुले गर्न चाहेको काममा सफलता नपाउनु, मानसिक तनाब धेरैै लिनुले पनि जिल्लामा आत्महत्याका घटनाहरु बढाएको हुनसक्ने उहाँले बताउनुभयो । आत्माहत्याका घटनाहरु न्युनिकरण गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्था लगायत स्थानीय सरकारले सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा उहाँको जोड छ । त्यसतै स्थानीय पाठ्यक्रममा आत्महत्या सम्बन्धी सचेतना फैलाउन आवश्यके रहेको उहाँ बताउनुहुन्छ ।