Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा भूमिहीनको तथ्याङ्क सङ्कलन सुरु

राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुकुम पूर्वले भूमिहीनको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ । लामो समय सम्म आयोगको जिल्ला समितिको पदाधिकारी नियुक्तमा ढिलाइ भएको थियो । भर्खरै मात्र आयोगको जिल्ला पदाधिकारीले पूर्ण पाएपछि बुधबार देखि मात्र भूमिहीनको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको हो । 

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको वडागतबाट तथ्याङ्क सङ्कलनको कार्य जिल्लामा बुधबार देखि सुरु गरिएको आयोगका जिल्ला अध्यक्ष दिपेन्द्रकुमार छन्त्यालले कखरालाई जानकारी दिनुभयो । गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा बुधबार देखि पैँतिस (३५) दिने सूचना प्रकाशन गरिएको छ । साथै जिल्लाका ३१ वटै वडाका वडाध्यक्ष र गाउँपालिकामा सूचना पठाइएको छ । 

बुधबार देखि पैँतिस दिन भित्र  भूमिहीन  दलित,  सुकुम्बासी  र  अव्यवस्थित  बसोबासीले  जग्गा  पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडामा निवेदन फाराम भर्नु पर्ने अध्यक्ष छन्त्यालले कखरालाई बताउनुभयो । पैँतिस दिन भित्र वडा मार्फत आएको तथ्याङ्क अनुसार भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रक्रियाका काम अघि बढाइने आयोगका जिल्ला अध्यक्ष छन्त्यालले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update