Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकाले विज्ञान विषय पढ्नेलाई छात्रवृत्ति दिने

सिस्ने गाउँपालिकाले प्राविधिक धार तर्फको विज्ञान विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिराखेको छ । गाउँपालिका भित्रका मात्र नभई जिल्लाकै गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राथमिकतामा राखेर सिस्ने गाउँपालिकाले छात्रवृत्ति प्रदान गरिराखेको हो । 

जिल्लामा एक मात्र पढाइ भइरहेको सिस्ने–५ रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोटमा ‘प्लस टु’ तहको विज्ञान विषय पठनपाठन भइरहेको छ । उक्त विद्यालयमा सिस्ने गाउँपालिकाले गत आर्थिक वर्ष देखि विज्ञान विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिराखेको गाउँपालिका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले कखरालाई बताउनुभयो । “कक्षा ११ र १२ गरी ३० जनाका लागि छात्रवृत्ति प्रदान गर्ने गाउँपालिकाले भनेको छ” प्रमुख बुढाले कखरासँग भन्नुभयो –“३० जना भन्दा बढी विद्यार्थी भर्ना हुन पुगेको खण्डमा विपन्न तथा जेहेन्दारलाई प्राथमिकता दिइने छ ।”

गत वर्ष कक्षा ११ मा १२ र कक्षा १२ मा पनि १२ गरी २४ जनाले मात्र विज्ञान विषय लिएर पढेका थिए । ३० जना पनि पुग्न नसकेकोले सबैलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेको थियो । जिल्ला एवम् गाउँपालिकामा आवश्यक पर्ने जनशक्ति अभाव खट्की राखेको समस्यालाई मध्येनजर गरी गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेरै भए पनि जनशक्ति उत्पादनमा लागेको हो ।

गत वर्षका कक्षा ११ मा उत्तीर्ण भएका १२ जना विद्यार्थी अहिले कक्षा १२ मा पढिराखेको विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर मल्लले बखरालाई जानकारी दिनुभयो । कक्षा ११ को लागि भने हाल विद्यार्थी भर्ना कार्यक्रम जारी रहेको प्रअ मल्लले बताउनुभयो । “गत वर्ष गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेको सबैलाई थाहा नहुन सक्छ” मल्लले भन्नुभयो –“यो वर्ष भने प्रायःलाई थाहा भयो कक्षा ११ मा विज्ञान विषय पढ्ने विद्यार्थीको सङ्ख्या बढ्ने अनुमान छ ।”

कक्षा ९ देखि १२ सम्मको बाली विज्ञान र कक्षा ११ र १२ मा पेवर विज्ञान विषयका विषयगत शिक्षक मार्फत पढाइ भइरहेको छ । जिल्लामा एक मात्र पढाइ भइरहेको रुक्मिणी माविमा प्राविधिक धार अन्तर्गतको बाली विज्ञान तथा विज्ञान विषय पढ्ने रुचि राखेका विद्यार्थी तथा अभिभावकलाई जिल्लामै पढाइ भइरहेको त्यसमा पनि गाउँपालिकाले छात्रवृत्ति प्रदान गरिराखेकोले उक्त अवसरबाट लाभ लिन प्रअ मल्लले सबैलाई जानकारी गराउनु भएको छ ।  


 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update