Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा खोरेत रोग विरुद्धको खोप अभियान सुरु 
भैंसीलाई खाेरेत राेग विरुद्धको खोप दिददैं ।

रुकुम पश्चिममा खोरेत रोग विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ला भरका पशुलाई खोप दिने उदेश्य सहित आजबाट खोप अभियान सुरु भएको हो । पशुपंक्षी रोग अन्वेशन प्रयोगशाला सुर्खेतको खोप सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले खोप अभियान सुरु गरेको हो । 

मुसीकोट नगरपालिका वडा नम्बर २ कालच्यूरीमा रहेको सिद्धबाबा कृषि फर्ममा रहेका गाई, भैंसीलाई खोप दिएर अभियानको सुरुवात गरिएको हो । आजबाट जिल्ला भरमा सुरु भएको खोप अभियान असोज ९ गतेसम्म जिल्ला भरमा संचालन हुने पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर घरमै पुगेर गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, सुँगुर लगायतका पशुलाई खोरत रोग विरुद्धको खोप दिइने छ । यसका लागि जिल्लाका सबै पालिकामा ३५ जना खोपकर्ता परिचालन गरिएको प्रमुख शर्माले बताउनुभयो । जिल्लाका ६ वटा स्थानीय तहका करिब ५० हजार पशुलाई खोरेत रोग विरुद्धको खोप दिने लक्ष राखिएको उहाँको भनाई छ । 

यसका लागि पशुपंक्षी रोग अन्वेशन प्रयोगशाला सुर्खेतले ४० हजार खोप सहयोग गरेको छ भने १० हजार खोप पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले व्यवस्था गरेको छ । जिल्ला भरमा अभियानकै रुपमा कर्णाली प्रदेशमै पहिलो पटक खोरेत विरुद्धको खोप अभियान संचालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । 

खोप अभियानको सिद्धबाबा कृषि फर्ममै एक औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update