Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा खाद्यको शाखा स्थापना
शाखा कार्यालय रुकुमकाेटमा भण्डारण गरिएकाे चामल ।

रुकुम पूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय स्थापना भएको छ । यसअघि रुकुम पश्चिमकै शाखाले रुकुम पूर्वलाई हेर्ने गरेकोमा शनिबार देखि भने रुकुम पूर्वमा छुट्टै शाखाले सेवा सुरु गरेको छ । यो संग रुकुम पूर्वमा अव खाद्यको चामल बिक्रि वितरणमा सहयोग पुग्ने भएको छ । 

यसअघि सदरमुकाम रुकुमकोटमा डिपो कार्यालय थियो भने पुथाउत्तरगंगा गाउँपालिकामा बिक्रि केन्द्र थियो । अव भने रुकुमकोटमा शाखा कार्यालय स्थापना भएको कार्यालय प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । यो वर्ष जिल्लाका लागि ३५ सय क्विन्टल चामलको कोटा रहेको उहाँले बताउनुभयो । 

जसमध्यमा १ सय २० क्विन्टल चाल जिल्ला पुर्याइएको छ । तकसेरा बिक्रि केन्द्रका लागि पनि बुटबलबाट १ सय ७० क्विन्टल चामल ल्याउन लागिएको खड्काले बताउनुभयो । रुकुमकोट शाखा कार्यालयका लागि यो वर्ष २ हजार र तकसेरा बिक्रि केन्द्रका लागि १५ सय क्लिन्टलको कोटा रहेको बताइएको छ । 

अहिले तत्काललाई भने दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै चालमको व्यवस्था गरिएको कार्यालय प्रमुख खड्काको भनाई छ । जिल्लामा चामलको अभाव हुन नदिने गरी काम भइरहेको उहाँको भनाई छ । आवश्यकता अनुसार चामल माग र ढुवानीको व्यवस्था भइरहेको उहाँले बताउनुभयो । 

शाखा स्थापनासंगै जिल्लामा शनिबार देखि सहुलियत मुल्य पसल पनि संचालन भएको छ । यसका लागि जिल्लामा ५ सय क्विन्टलको कोटा रहेको छ । साविकको तुलनामा प्रतिकिलो ७ रुपैंया सस्तोमा चामल बिक्रि सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट रुकुम पूर्व शाखा प्रमुख खड्काले बताउनुभयो ।
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update