Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट ३ मा रानीखेत रोग फैलियो, दुईसय बढी कुखुरा मरे

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ३ का विभिन्न ठाउँमा पालिएका लोकल कुखुरामा रानीखेत रोग फैलिएको छ । जसका कारण कुखुराहरु मर्न थालेका छन् । केहि दिन देखि कुखुराहरु मर्न थालेको कृषकहरुको भनाई छ । एक्कासी कुखुरा मर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । वडाका पिपलनेटा र धैरेनीचौरमा गरी अहिलेसम्म करिब दुई सय बढी कुखुरा मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । स्थानीयले पालेका कुखराहरु धमाधम मर्न थालेका हुन् । अज्ञात रोगका कारण कुुखुराहरु मर्न थालेको खवर पाएपछि पशु सेवा कार्यालयको टोली आज सम्बन्धीत स्थानमा पुगेको थियो ।

आज कार्यालयको टोली सम्बन्धीत स्थानमा पुगेर कुखुराहरुको अवलोकण गर्दा कुखुरामा रानीखेत रोगको जस्तो लक्षण देखिएको र पछि प्रयोगशालामा परीक्षण गर्दा रानीखेत नै भएको पुष्टि भएको पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानु शर्माले बताउनुभयो । कखुराको उपचार सुरु भएको उहाँको भनाई छ । कुखुरालाई आजै रानीखेतको भ्याक्सिन दिईएको बताईएको छ । यसअघि कुखुरालाई भ्याक्सिन नदिईएको र बाहिरबाट ल्याईएका कुखुराबाट गाउँका कुखुराहरुमा रोग सरेको हुनसक्ने अनुमान पशु सेवा कार्यालयले गरेको छ । उपचारको प्रक्रिया सुरु भइसकेको र भोलीबाट कुखरामा सुधार आउने कार्यालयले जनाएको छ ।

प्रतिघर १० वटाभन्दा बढी कुखुराहरु मरेको पाईएको कार्यालयको भनाई छ । कुखुरामा रोग फैलिएपछि ठुलो लगानी गरेर व्यवसायिक कुखुरा पालन गरेका देखि परम्परागत रुपमा केहि संख्यामा कुखुरा पालन गरेका कृषकहरु लगानी डुब्ने भन्दै चिन्तामा परेको धैरेनीचौरमा व्यवसायिक कखुरा पालन गरिरहनुभएका टोपवहादुर खड्काले बताउनुभयो । रोग नियन्त्रणमा नआए ठुलो क्षेति हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार लोकल बाहेक अन्य कुखुरामा भने अहिलेसम्म यो रोग नदेखिएको कृषकहरुको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update