जिल्ला सदरमुकाम मुसीकोटका विभिन्न बजारबाट बरामद गरिएका म्याद गुज्रिएका सामग्री नष्ट गरिएको छ । मंगलबार बजार अनुगमनबाट बरामद गरिएका म्याद गुज्रिएका सामान नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र सरोकारवालाको रोहबरमा बरामद गरिएका म्याद गुज्रिएका सामान नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय परिसरमा नजल्ने सामान गाडिएको हो भने जल्ने सामानलाई आगो लगाई नष्ट गरिएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जिएमले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदरमुकामका त्रिवेणी चोक, बागबजार र हुलाक चोकका विभिन्न ६० वटा पसल अनुगमन गर्दा म्याद गुज्रिएका विभिन्न सामग्री बरामद गरिएको थियो । कस्मेटिक, खाद्यान्न तथा किराना, मासु पसल, कपडा पसल, होटलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बजार मुल्य अनुसार ५३ हजार रुपैंया बराबरका विभिन्न म्याद गुज्रिएका सामान बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जिएमले बताउनुभयो ।
त्यस्तै अनुगमनका क्रममा मूल्यसुचि नराखेको, दर्ता तथा नविकरण नगरेको, होटलहरुमा सरसफाईमा ध्यान नदिएको, म्याद गुज्रिएका सामान राखेको लगाएतका समस्या देखिएको उहाँको भनाई छ । कमजोरी भेटिएका पसलहरुमा सुधाार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । सदरमुकाममा मात्रै नभएर जिल्लाका मुख्य बजार क्षेत्रमा पनि अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको जनाएको छ । यसअघि गएको विहिबार खंलगा बजार क्षेत्रका ६४ पसलहरु अनुगमन गर्दा ६ हजार ८ सय ८२ रुपैया बरावरको म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गरिएको थियो ।
दशैं, तिहार लगायतका चाडपर्व नजिकिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्वलाई मात्र नभई नियमित रुपमा बजार अगनुगमन गर्नुपर्ने नागरिकहरुको माग छ । प्रशासनले पनि अव बजार अनुगमन नियमित हुने बताउँदै आएको छ ।