Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली समाज विकास केन्द्र १८ औं वर्षमा 
१७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको रुकुमेली समाज विकास केन्द्र स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६१ साल कार्तिक २६ गते स्थापना भएको यो संस्थाले आज १७ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले विभिन्न सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाको सहयोगमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । 

विशेषगरी दलित, जनजाती, महिला, वालवालिका, युवा र विपन्न समुदायका लागि विभिन्न किसिमका आयआर्जन, जनचेतनामूलक, रोजगारमूलक, कृषि, वन, खानेपानी, जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य तथा पोषणका क्षेत्रमा संस्थाले काम गरिरहेको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हाल संस्थाले रुकुम पश्चिम र रुकुम पूर्वमा काम गरिरहेको छ । संस्थाबाट गत आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न साझेदार निकायहरुको सहयोगमा रुकुम पश्चिमका तीन नगरपालिका र तीन गाउँपालिका तथा रुकुम पूर्वका तीन गाउँपालिकामा विभिन्न परियोजनाहरु संचालन भएका छन् । 

जसबाट महिला १८ हजार ६ सय ३७ र पुरुष ५ हजार ५ सय ७ जनाले सेवा लिएका छन् । त्यसमा दलित २ हजार ९ सय २१, जनजाती १३ हजार १ सय ३१, अन्य ८ हजार ९२ र वालवालिका १३ हजार ५ सय ७५ रहेको संस्थाले जनाएको छ । यो अवसरमा संस्थाले मुसीकोटमा खलंगामा १७ औं वार्षिक साधारणसभा आयोजना गरेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update