जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । भित्रिने र बाहिरिने यात्रु जिल्लाको मुख्य आउजाउको रूपमा रहेको रुकुमकोटमा जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी रुकुमपूर्वले शुक्रबार देखि यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
दसैं–तिहारका बेला यात्रु नठगिउन् भनेर जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । विगतका वर्षहरूमा चाडपर्व मनाउन घर आउने र जाने यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासा आउने गरेको थियो । यात्रुहरू भाडामा नठगिउन, सिट क्षमता भन्दा बढी यात्रु बस चालकले नराखुउन र टाढाका यात्रुहरू अलपत्र नपरुउन भन्ने उद्देश्यले प्रहरी र ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी यात्रुलाई सेवा दिइराखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बताउनुभयो ।
प्रहरी निरीक्षक खत्रीका अनुसार उक्त सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरी, यातायात समितिका प्रतिनिधि बसेर यात्रुलाई घर जानका लागि सहजता प्रदान गर्ने काम गरिराख्नु भएको छ । यात्रुबाट मनपरी भाडा नउसुल्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न र तीब्र गतिमा सवारी साधन नहाक्न प्ररही निरीक्षक खत्रीले बस चालकलाई अपिल गर्नु भएको छ । सावधानी अपनाएर सवारी साधन ड्राइभिङ गरेमा मात्र पनि दुर्घटनाका घटना नहुने खत्रीले बताउनुभयो । यदि यात्रु आफूलाई समस्या भएमा नजिकको प्रहरीमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।
यात्रु सहायता कक्ष स्थापना उद्घाटन कार्यक्रममा प्रहरी निरीक्षक कृष्णबहादुर खत्री, प्रहरी वरिष्ठ नायव निरीक्षक टंकप्रसाद भण्डारी, जिल्ला ट्राफिक प्ररही कार्यालयका प्रमुख एवं प्रहरी नायव निरीक्षक ज्ञानबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।