Kakhara सबैको खबर सम्पूर्ण खबर
५ अर्व लगानी गर्नुहोस रुकुमेलीले वार्षिक ६ अर्व आम्दानी गर्छनः सांसद शर्मा 

कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश सभा सदस्य गोपाल शर्माले आधारभूत तहका जनतामा लगानी गर्न बैंकहरुलाई आग्रह गर्नुभएको छ । समाजवादको यात्रा तय गर्न आधारभूत तहका जनतामा लगानी आवश्यक रहेको भन्दै उहाँले सामान्य जनतामा लगानी बढाउन बैंकहरुलाई आग्रह गर्नुभएको हो । 

मुसीकोटमा नेपाल राष्ट्रिय वाणिज्य बैंकको २ सय ६२ औं शाखा उद्घाटन कार्यक्रममा बोल्दै सांसद शर्माले संविधानमा लेखिएको समाजवादको यात्रा रुकुम पश्चिमबाट सुरु गर्न खोजेको र यसमा सहयोग गर्न बैंकहरुलाई आग्रह गर्नुभयो । जनतामा लगानी बढाउने प्रयास अन्तरगत जिल्ला सदरमुकाममा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गर्न आफुहरुले पनि पहल गरेको उहाँले बताउनुभयो । 

उहाँले आधारभूत तहका जनतामा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंक मुसीकोट शाखालाई अनुरोध गर्दै आफुहरुले रुकुमेली जनतामा ५ अर्व लगानी खोजिरहेको बताउनुभयो । ‘तपाईहरुको सहकार्य हामीले खोजेका छौं, जिल्लामा ५ हजार सहकार्य समुह बनेका छन्, हामीसंग २५ हजार घर संगठित भएका छन्, उहाँले भन्नुभयो– तपाईहरु ५ अर्व लगानी गर्नुहोस्, जनताले ६ अर्व आम्दानी गर्छन, त्यो पैसा तपाईकैमा आउँछ यसबाट तपाईहरुलाई नै फाइदा छ ।’

जिल्लालाई कसरी समृद्ध बनाउने र रुकुमेलीलाई कसरी सम्पन्न बनाउने भन्ने चिन्ता राजनीतिक नेतृत्वको भएको र यसमा साथ दिन उहाँले सबै बैंक तथा वीत्तिय संस्थाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सदस्य एवं प्रदेश सामाजिक विकास समितिका संयोजक देवी ओलीले समाज विकासको साझेदार बैंकहरु बन्नुपर्ने बताउनुभयो । 

त्यस्तै आम्दानीको सही लगानीका लागि बैंकहरु गाउँ गाउँमा पुग्नुपर्ने र नागरिकहरुले बैंकबाट सहज कर्जा पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै नागरिकहरु पनि अव वीत्तिय रुपमा साक्षर हुनुपर्ने र बढ्दो प्रविधिको प्रयोगसंगै सहज बैंकिङ सेवामा जोडिनुपर्ने धारणा उहाँले राख्नुभयो ।  

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update