गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागि मध्ये रुकुम पश्चिमका अधिकांश उम्मेदवार तोकिएको समयमा खर्च विवरण नबुझाउदा कारवाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयसिमा भित्र २३.३९ प्रतिशत अर्थात २ सय ११ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएको पाइएको छ ।
जिल्लाका ६ वटा स्थानीय तहमा कुल ९ सय २ जना उम्मेदवारले निर्वाचनमा भाग लिएकामा ६ सय ९१ जना समयमा निर्वाचन खर्च विवरण नबुझाउँदा कारवाहीमा परेका छन् । निर्वाचन आयोगले कारवाहीमा परेका उम्मेदवारको नामावली र जरिवाना तोकेर पठाएको जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले जानकारी दिनुभयो ।
आयोगले पठाएको विवरण अनुसार जिल्लाका ७६.६० प्रतिशत उम्मेदवार कारवाहीमा परेको उहाँले बताउनुभयो । निर्वाचन खर्च नबुझाउनेमा आठबीसकोट नगरपालिका अग्रपंक्तिमा छ । आठबीसकोटका निर्वाचित र पराजित प्रमुख पाँचै जना तथा निर्वाचित र पराजित तीनै जना उपप्रमुखले निर्वाचन खर्च नबुझाएको आयोगले जनाएको छ ।
त्यस्तै १४ वटै वडामा निर्वाचित मध्ये कोही पनि अध्यक्षले समयमा खर्च विवरण बुझाएका छैनन् । उनीहरु सबै जरिवानामा परेका छन् । पराजित विभिन्न पदका उम्मेदवारहरुले खर्च विवरण समयमै नबुझाएको आयोगले सार्वजनिक गरेको विवरण उल्लेख छ ।
खर्च विवरण नबुझाउनेमा निर्वाचित नगर प्रमुख रवि केसी, उपप्रमुख धनकुमारी शाही तथा पराजित नगर प्रमुखका उम्मेदवारहरु धिरेन्द्रकुमार बटाला, कृष्णाकुमारी मल्ल, डम्बरबहादुर बुढा र टेकबहादुर चन्द रहनुभएको छ । यसका साथै पारजित उपमुखका उम्मेदवारहरु दिनेश चन्द र खिस्री पुनले पनि खर्च विवरण बुझाउनुभएको छैन् ।
अन्य पालिकाका निर्वाचित प्रमुख, उपप्रमुख लगायतले भने खर्च विवरण बुझाएका छन् । खर्च विवरण नबुझाइ कारवाहीमा पर्नेमा अन्य पालिकामध्ये सानीभेरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्द, मिमकुमार ओली, टंकबहादुर घर्ती र उपाध्यक्षका उम्मेदवार प्रकाश खड्का रहनुभएको छ । मुसीकोट नगरपालिकामा उपप्रमुखका उम्मेदवार थलबहादुर ओली र सृजना केसी कारबाहीमा पर्नुभएको छ ।
बाँफिकोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसी र खम्बु खत्री, त्रिवेणी गाउँपालिकामा अध्यक्षका उम्मेदवार चोपलाल खड्का, धनराज खड्का, देवीलाल खड्का र उपाध्यक्षका उम्मेदवार सृष्टी बाँठा मगर तथा चौरजहारी नगरपालिकामा प्रमुखका उम्मेदवार प्रशाराम खत्री र कालीबहादुर खत्री, उपप्रमुखका उम्मेदवार टंकप्रसाद ओली र पार्वती कार्की पनि कारबाहीमा पर्नुभएको छ ।
निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आएको ३० दिनभित्र आफ्नो जिल्लाको निर्वाचन कार्यालयमा निर्वाचनको खर्च विवरण बुझाउन भनेको थियो । आयोगले समयमा खर्च विवरण नबुझाउने मध्ये नगर प्रमुख र उपप्रमुखलाई ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना तोकेको छ ।
त्यस्तै नगरपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई २ लाख तथा गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई १ लाख ५० हजार जरिवाना तोकेको छ । यसरी निर्वाचन खर्च समयमै नबुझाउने रुकुम पश्चिमका ६ सय ९१ जना उम्मेदवारलाई कुल १२ करोड ९२ लाख ५० हजार जरिवाना तोकिएको छ ।