किशोर–किशोरीको प्रजनन स्वास्थ्यबारे थप ज्ञान दिने उद्देश्यले सञ्चालन गरिएको किशोर– किशोरी मैत्री सूचना केन्द्र रुकुमपूर्वमा प्रभावकारी बन्दै छ । जिल्लाका भूमे र सिस्ने गाउँपालिकाका १७ वटा माध्यमिक विद्यालयमा सञ्चालित किशोर–किशोरी मैत्री सूचना केन्द्र प्रभावकारी बन्दै गएको हो ।
दुई वर्ष अघि देखि उक्त विद्यालयमा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्रले सञ्चालन गरिराखेको छ । किशोर–किशोरी मैत्री सूचना केन्द्र विद्यालयहरूमा सञ्चालित कार्यक्रमलाई सफल एवम् निरन्तरता दिनमा स्थानीय सरकारले पनि चासो दिएको छ । “भोलिका कर्णधार किशोर–किशोरीलाई व्यवहारिक ज्ञान सहितको सक्षम बनाउन आजैदेखि बालवालिकाको स्वास्थ्यमा चासो दिनु जरुरी छ” जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले भन्नुभयो –“युएनएफपीएको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित किशोर–किशोरी मैत्री सूचना केन्द्रले स्थानीय सरकारलाई बालबालिका क्षेत्रमा काम तथा लगानी गर्नेमा एउटा गतिलो पुलको रूपमा साथ, सहयोग पुगेको छ ।”
सूचना केन्द्रबाट किशोर–किशोरीको स्वास्थ्य समस्यालाई घटाउन सहयोग पुग्ने गरेको भूमे–६ मावि महतका शिक्षक केशरमान खड्काले बताउनुयो । “किशोर–किशोरीको सेवाको पहँुच बढाउने उद्देश्यले विद्यालयमा स्थापना तथा सञ्चालन गरिएको सूचना केन्द्रले किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था जिल्लामा जटिल समस्याको रूपमा रहेको बाल विवाहलाई कम गर्नुका साथै उनीहरूलाई पर्ने प्रजनन स्वास्थ्य समस्यामा सुधार आइ रहेको छ ।” शिक्षक खड्काले भन्नुभयो ।
आफूले पढिराखेको विद्यालयमा सूचना केन्द्र स्थापना भएपछि आफूहरूले किशोरा अवस्था र प्रजनन स्वास्थ्यका बारेमा ढुक्कसँग बुझ्न पाएको किशोर–किशोरीले बताएका छन् । जिल्लाका १७ माविमा सञ्चालन रहेको सूचना केन्द्रमा बृहत्तर यौनिकता शिक्षाका अध्ययन शैक्षिक सामग्रीसँगै अपाङ्ग मैत्री शैक्षिक सामग्री वितरण, फर्निचर, महिनावारी सरसफाईका सामग्री लगायत एक लाख देखि पौने चार लाख रुपैयाँ सम्मको एक विद्यालयको सूचना केन्द्रमा लगानी रहेको युएनएफपीएका जिल्ला संयोजक भुवन सेजुवालले बताउनुभयो । १७ मावि मध्ये पाँच वटा माविलाई नमुना किशोर–किशोरी मैत्री सूचना केन्द्रको रूपमा विस्तार गरिएको संयोजक सेजुवालले जानकारी दिनुभयो । माध्यमिक विद्यालयमा उक्त सूचना केन्द्रलाई निरन्तरता दिइराख्न अति आवश्यक रहेको विद्यालयले जनाएका छन् ।
किशोर–किशोरी मैत्री सूचना केन्दको अवस्थाबारे सूचना केन्द्र स्थापना गरिएको माविमा जिल्ला स्तरीय अनुगमन पनि गरिएको छ । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, भूमे गाउँपालिकाका उपाध्यक्ष सबिना बुढा मगर, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख तिलक गौतम लगायत सम्बन्धित वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिको सहभागिता रहेको थियो ।