रुकुम पश्चिमको मुुसीकोट नगरपालिका वडा नम्बर १० ले मरेका पशुचौपायालाई सही रुपमा व्यवस्थापन गर्न वडावासीलाई अनुरोध गरेको छ । वडामा बौलाह कुकुरको टोकाईबाट घाइते भएका पशु चौपायाहरु धमाधम मर्न थालेपछि वडाले मरेका पशुको सही व्यवस्थापन गर्न वडावासीलाई अनुरोध गरेको हो । वडामा हालसम्म गाई, भैंसी, गोरु र कुकुर गरि ११ वटा पशु चौपाया मरिसकेको वडाले जनाएको छ ।
उक्त मरेका पशु वडावासीले जथाभावि फाल्न थालेपछि वडाले एक सूचना जारी गर्दै जथाभावि नफाल्न अनुरोध गरेको हो । मरेका पशु जथाभावि फाल्दा थप संक्रमण फैलिने सम्भावना रहेको वडाले जनाएको छ । साथै वडाले आफ्नो घरमा रहेका कुकुर घरमै बाधेर राख्न अनुरोध गरेको छ ।
मरेका पशुलाई जमिन मुनि कम्तिमा चार मिटर गहिरो खाडल खनि गाड्न वडाले भनेको छ । वडामा रेविज फैलिएपछि स्वास्थ्य कार्यालयका डाक्टर ओसियन पुनमगर, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्राविधिक भुवन चौधरी, नगर स्वास्थ्य शाखाका बेदाराम ओली र नगर पशु सेवा शाखाबाट इन्दु केसी लगाएतको टोलीले सम्बन्धीत ठाउँको अनुगमन गरेको थियो ।
उक्त टोलीले मरेका पशुलाई जथाभावि फाल्दा गाउँ भरीमा संक्रमण बढ्ने सुझाव दिएपछि वडावासीलाई सतर्कता अपनाउन र लापरवाही नगर्न भनिएको वडाध्यक्ष धनबहादुर खड्काले जारी गरेको सूचनामा उल्लेख छ । यदी मरेका पशुचौपायलाई जथाभावी खुला रुपमा फालेको पाइएमा कानुन अनुसार कारवाही हुने वडाले चेतावनी दिएको छ ।