Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा बजार अनुगमनः व्यवसाय दर्ता, नविकरण नगरेकाबाट झण्डै ३ लाख राजस्व संकलन 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर भित्र रहेका विभिन्न ठाउँका बजार अनुगमन गरेको छ । चाड पर्व नजिएसंगै बजारमा कालो बजारी हुनसक्ने भएकाले नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो । भदौ देखि असोज १३ सम्म नगरपालिकाले नगर भित्रका विभिन्न ठाउँका बजार क्षेत्रमा ४ पटक बजार अनुगन गरिसकेको छ । नगर कार्यपालिका सहितको अनुगमन टोलिले नगरपालिकाको विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो । 

वडा नम्बर १ को नयाँ बजार, वडा नम्बर २ को नयाँ बजार र वडा नम्बर ११ को चौफा बजार क्षेत्रमा बजार अनुगमन गरिएको आर्थिक विकास शाखा प्रमुख गणेश  बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार ४ पटकमा १ सय ६७ पसल अनुगमन गरिएको छ । जसअन्तरर्गत दर्ता तथा नविकरण नगरेका १ सय २२ वटा पसल कारबाहीमा परेका छन् । ४५ वटा पसल मात्रै दर्ता तथा नविकरण नगरेको पाएको छ । भदौ ७ गते पहिलो पटक बजार अनुगमन गर्दा व्यवसाय दर्ता तथा नविकरण नगरेका पसलहरु बाट १७ हजार ५० राजस्व संकलन गरेको नगरपालिकाले दोस्रो पटक भदौ २७ गते  बजार अनुगमन गर्दा २१ हजार ७ सय रुपैया राजस्व संकलन गरेको थियो ।

त्यस्तै तेस्रो पटक असोज १२ गते नगरपालिकाले बजार अनुगमन गर्दा व्यवसायहरु दर्ता तथा नविकरण नगरेका पसलहरुबाट ७० हजार ४ सय र असोज १३ गते दर्ता तथा नविकरण नगरेका पसलबाट १ लाख ७५ हजार ४० रुपैंया राजस्व संकलन गरेको छ । साउन मसान्तभित्र व्यापार व्यवसाय दर्ता तथा नविकरण गरिसक्न सार्वजनिक सूचना आह्वान गरेपनि सूचनाको अवज्ञा गरि व्यापार व्यवसाय दर्ता तथा नविकरण नगरेका व्यवसायीबाट २ लाख ८४ हजार ६ सय ४० रुपैंया राजस्व उठेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो ।

नगरपालिकाले दैनिक उपभोग्य वस्तुको कालोबजारी नगर्न, पसलहरुमा मुल्य सूचि राख्न, सरसफाईमा ध्यान दिन, म्याद नाघेका सामान विक्रि वितरण नगर्न पनि व्यापार व्यवसायीलाई अनुरोध गरेको छ । नियमित बजार अनुगमन भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update