Kakhara सबैको खबर सम्पूर्ण खबर
तौलेर मात्रै दाउराको भारी !
दाउरा तौलदै ।

तौलेर दाउराको भारी ल्याइन्छ भन्दा तपाइलाई अच्चम लाग्न सक्छ । तर यो साँच्चिकै खबर हो । दाउराको एक भारी तौल भन्दा कम या बढी हुनुहुँदैन । तोकिएकै तौलको भारी मात्रै दाउरा बनाउने घर लैजान पाउँछन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक गाउँका सर्वसाधारणले चलाएको चलन हो, यो । हरेक वर्ष बारेको वनबाट दाउरा लिँदा नापेर, तौलेर लिनुपर्ने चलन अहिले चलाइएको होइन । परापूर्वकालदेखि नै यो चलन कायमै छ । १

नम्बर वडाको लामिछाने गाउँका सर्वसाधारणले बारेको वनबाट दाउरा बनाएर ल्याउँछन् अन्त्यमा तौलेर घर लैजान्छन् । एक भारी दाउरामा ६० किलो तौल हुनुपर्ने मापदण्ड बनाइएको छ । बारेको सामुदायिक वन उपभोक्ता समितिले यो वर्ष ६० किलोको एक भारी दाउरा घर लैजान पाउने गरी निर्णय गरेको छ । एक घर परिवारले ४ सय रुपैयाँ तिरेपछि एक सिजनभर दाउरा लिन पाउने गरी नियम बनाएको छ ।

बुधबारदेखि दाउरा बनाउनका लागि वन खुल्ला गरिएको छ । विहानै वन गएकाहरुले दाउरा बनाएर गाउँ नजिकै पुर्याउँछन् । त्यही दाउरा तौलेर घर लग्ने गरिएको छ । ६० किलो बढीको भारी ल्याएकाले बढी दाउरा तौलने ठाउँमा छाड्छन् भने कम ल्याएकाले त्यही दाउरा थपेर घर लैजान्छन् । बुधबारबाट खुल्ला गरिएको दाउरा काट्ने काम अबको केही दिनसम्म चल्नेछ । स्थानीय भद्रुलाल जैसीले सबैले बराबरी दाउरा लैजाने चलन पूरानै भएको बताउनुभयो । कसैले बढी र कसैले कम नपाओस् भनेर यो नियम लगाइएको लामिछानेले बताउनुभयो ।

वन उपभोक्ता समितिले अशक्त, असहाय, अपांग जेष्ठ नागरिकबाट शुल्क लिँदैन । उनिहरुबाट शुल्क नलिने समितिले उनिहरुलाई दाउरा पनि व्यवस्था गर्दिने गरेको समितिका अध्यक्ष भिमप्रसाद लामिछानेले बताउनुभयो । एक भारीबाट धेरै भएर बचेका दाउरा नसक्नेहरुलाई दिने गरिएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । अघिपछि वनमा काठपात, रुख कटान बन्द गर्ने गरिएको हरेक वर्षको यही समयमा वन खुल्ला गरेर सबैले बराबर दाउरा लैजाने गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update