नाबालिक बलात्कारको आरोप लागेका सन्दीप लामिछाने अन्तत् नेपाल फर्किने भएका छन् । आफु बिरुद्ध बलात्कारको मुद्दा परेको केही समयपछि सम्पर्क बिहिन बनेको लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आँफु अक्टोबर ६ अर्थात असोज २० गते नेपाल आउने जानकारी गराएका हुन् ।
ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्ने छु र झूटा आरोप विरुद्ध कानुनी लडाइँ लड्न आफूलाई नेपालको कानूनी निकायमा पेश गर्ने छु, उनले फेसबुमा लेखेका छन् । साथै उनले आँफु निर्दोष रहेको दोहोर्याएका छन् । र कानूनी निकायहरुले निष्पक्ष सुनुवाई र निर्णय हुनेमा आँफु आशावादी रहेको समेत बताएका छन् ।
उनले लेखेका छन् ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोर्होयाउँछु । सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतको निष्पक्ष सुनवाई र निर्णय हुनेमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु ।’ आँफु विरुद्ध लागेका झुट्टा आरोपको पर्दा समयसंगै खुल्दै जाने उनको भनाई छ ।
‘मेरा प्रिय शुभचिन्तकहरू म निर्दाेष छु र मैले कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु । मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष सावित गर्न र षड्यन्त्रको सिकार हुन नदिन यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा खुल्दै जानेमा म विश्वस्त छु,’ उनि लेख्छन् ।
केन्या विरुद्धको सिरिज खेल्ने केन्या गएका सन्दीप उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न जमैका गएका थिए । उनी त्यहीँ भएका बेला उनी विरुद्ध एक नाबालिकले गत भाद्र ५ गते आफुलाई सन्दीपले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिइन् । त्यसको केही समयसम्म सम्पर्कमा रहेका सन्दीप सम्पर्क विहिन भएका थिए । केही दिन अघि मात्र उनले आफु मानसिक रुपमा विच्छिप्त रहेको र आफुलाई आइसोलेशनमा राखेको स्टाटस फेसबुकमा लेखेका थिए ।
उनी सम्पर्क बिहिन भएपछि नेपाल प्रहरीको आग्रहमा अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।