रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० मा मरेका पशुमा रेबिज रोग पुष्टी भएको छ । केही समय अगाडी बहुला कुकुरको टोकाईबाट घाइते भएका पशु चौपाया धमाधम मर्न थालेपछि मरेका पशुको नमूना सुर्खेत लिएर जाँच गरिएको थियो । जसबाट रेबिज पुष्टी भएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । वडाका लायकराम खड्काको मरेको राँगाको नमूना पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा लगेर परीक्षण गरिएको थियो । जसको नतिजा पोजेटिभ आएको प्रयोगशालाले जानकारी गराएको वडाध्यक्ष खड्काले बताउनुभयो ।
अहिलेसम्म वडामा ११ वटा पशु मरिसकेका छन् । बहुला कुकुरले टोकेका पशु र तिनको सम्पर्कमा रहेका अन्य पशु पनि मरेको वडाले जनाएको छ । अहिलेसम्म ८ वटा कुकुरले टोकेका र ३ वटा टोकेका पशुको सम्पर्कमा रहेका पशु परेको बताइएको छ । केही पशु बिरामी अवस्थामा रहेको वडाले जनाएको छ । वडामा रेबिज पुष्टी भएपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३ सय डोज रेबिज विरुद्धको खोप पठाइदिएको छ ।
अहिलेसम्म वडाको गलमपाटी टोलका सबै कुकुर र कुकुरले टोकेका तथा उक्त पशुको सम्पर्कमा रहेका १ सय वटा पशुलाई ५ डोज रेबिज विरुद्धको खोप कार्यक्रम चलिरहेको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २ डोज खोप लगाइएको छ । त्यस्तै कुकुरले टोकेका तथा कुकुरले टोकेका पशुको सम्पर्कमा रहेका ३८ जना मान्छेले पनि रेबिज विरुद्धको खोप लगाएका छन् ।
रेबिज रोकथामका लागि आइतबार वडाभरीका कुकुरलाई रेबिज विरुद्धको खोप दिइने वडाले जनाएको छ । भदौ दोस्रो सातातिर गलमपाटी टोलमा प्रवेश गरेको बहुला कुकुरले पशु तथा मान्छेलाई अन्धाधुन्ध टोकेर भागेको थियो ।