रुकुमपूर्वमा पहिलो पटक जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । आपत्–विपद्का घटना भएमा तत्कालै उद्धार तथा समस्या समाधान कामका लागि जिल्लामा पहिलो पटक जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय परिसरमै जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख उपस्थितिमा जिल्ला स्थित गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायको उपस्थितिमा केन्द्र उद्घाटन गरिएको छ । शुक्रबार केन्द्रको उद््घाटनसँगै केन्द्रले आफ्नो काम थालनी गरिसकेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ । जिल्लामा अब आपत्–विपद्का घटना हुना साथ जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रको अगुवाइमा काम हुने प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिनुभयो ।
“यस अघि जिल्लामा केन्द्र स्थापना नभएको अवस्थामा घटनाको जानकारी तथा उद्धार र राहतका काममा केही ढिलाइ हुने समस्या थियो” प्रजिअ सुनुवारले भन्नुभयो –“अब केन्द्रमा आवद्ध जनशक्तिले आपत्–विपद्का घटनामा मात्र काम गर्ने भएकाले घटनाको जानकारी तथा उद्धार र राहतमा छिटो–छरितो काम हुने छ ।”
जिल्लाको विपद् सम्बन्धि सूचना तथा जानकारी लिनु लिनका लागि ९७४६९३०९४० मा २४ सैं घण्टा खुला रहने बताइएको छ । जिल्लामा स्थापना भएको आपत्कालिन कार्य सञ्चालन केन्द्रले घटना तत्कालै जानकारी लिन र उद्धार कार्यमा सहज हुने जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । “यसलाई थप व्यवस्थित गर्दै जानु पर्छ” प्रमुख श्रेष्ठले भन्नुभयो –“विपद् पूर्व प्रतिकार्य योजना बनाउदा समेत केन्द्रको मुख्य भुमिका रहने छ ।”