Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा एकै दिन दुई टावर सञ्चालन
भूमे–६ महतमा सञ्चालनमा आएको नेपाल टेलिकमको टावर ।

जिल्लामा सञ्चार सुविधाको पहुँच बढ्दै छ । हाल सम्म जिल्लामा कम मात्रको सञ्चारको सुविधा रहेको थियो । तर, पछिल्लो समयमा फोन सेवाको पहुँच बढाउँदै गएको छ । शुक्रबार मात्र एकै दिन जिल्लामा नेपाल टेलिकमको दुई ठाउँको टावर सञ्चालनमा ल्याइएको हो । 

भूमे गाउँपालिका–६ महत र सिस्ने गाउँपालिका–४ दादिङ गरी दुई ठाउँको टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम कार्यालय रुकुमपूर्वका प्रमुख चन्दनकुमार यादवले बताउनुभयो । फोरजी सहितको फोन सेवा सञ्चालनमा आएको यादवले जानकारी दिनुभयो । महत र दादिङ दुई ठाउँको टावर सञ्चालनले प्रत्येक्ष रूपमै १० हजार हाराहारी व्यक्तिहरू लाभान्वित भएको प्रमुख यादवले जानकारी दिनुभयो । दर्जनौँ बस्तीहरू पहिलो पटक फोन सेवाको पहुँचमा पुगेका हुन् । 

सञ्चारको सुविधा नभएको गाउँ, ठाउँमा सञ्चारको सुविधा पुगेपछि स्थानीय खुसी छन् । “यस अघि फोन गर्न डाँडाकाँडा धाउनु परेको थियो” भूमे–२ का सुजन घर्ती मगरले भन्नुभयो –“अहिले त्यो दुःखका दिन गए अहिले त घरमै बसीबसी फोनसँगै नेट समेत चलाउन पाएका छौँ ।” अहिले त आफ्नै गाउँ, घरमै फोनसँग नेट चल्न थालेपछि शहरको महशुस भइरहेको समेत घर्तीले सुनाउनुभयो । 

लामो समय सम्म निर्माणाधीन अवस्थामा रहेका दुई टावर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई जिल्ला स्थित सरोकारवाला लगायत प्रशासनको बारम्बार ताकेताले अहिले टावर सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । “तत्काललाई यी दुई ठाउँको टावर सञ्चालनमा आएको छ” प्रजिअ सुनुवारले भन्नुभयो –“अब छिट्टै नै सिस्ने–६ को खोपीचार, पुथाउत्तरगङ्गा गाउँपालिका–२ को पेल्मामा निर्माणाधीन नेपाल टेलिकमका टावर पनि सञ्चालनमा ल्याइदै छ ।”
यी दुई ठाउँको टावर पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैगरी पुथाउत्तरगङ्गा–१० मा पनि भर्खरै टावर निर्माणको काम चलिरहेको छ । यी टावर सञ्चालनमा आए पूरै जिल्ला नै आधारभूत रूपमा सञ्चारको पहुँचमा पुग्ने प्रजिअ सुनुवारले बताउनुभयो दिनुभयो । 

 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update