दशैंलाई लक्षित गरी रुकुम पश्चिमबाट साढे १३ सय खसी, बोका निर्यात भएका छन् । जिल्लाका विभिन्न ठाउँबाट १३ सय ४५ वटा खसी, बोका जिल्ला बाहिर निर्यात भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्लाबाट खसी, बोका काठमाडौं लगिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । खसी, निर्यातबाट जिल्लामा २ करोड २८ लाख रुपैंया भित्रिएको उहाँले बताउनुभयो । गतवर्ष भन्दा यो वर्ष निर्यात केही बढेको उहाँको भनाई छ ।
उहाँका अनुसार जिल्लाबाट खसी, बोका निर्यात बढ्दो क्रममा रहेको छ । मासुजन्य पशुपालन व्यवसायमा अनुदानका कार्यक्रम बढ्नुले खसी, बोकाको उत्पादन बढिरहेकोले निर्यात पनि बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । जिल्लामा पछिल्ला वर्षहरुमा खसी, बोकाको उत्पादन बढिरहेको कार्यालयले जनाएको छ ।
पशुपालनबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लावासी पशु पालनमा जोडिएका छन् । रुकुम पश्चिम मासुमा आत्मनिर्भर रहेको छ । जिल्लालाई पुगेर पनि जिल्लाबाट वर्षेनी करोडौंका खसी, बोका जिल्ला बाहिर निर्यात हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांक छ ।