Kakhara सबैको खबर सम्पूर्ण खबर
आठविसकोटको सामाजिक र ऐतिहासिक पक्षका केही आयामहरु
आठविसकाेटकाे राडि बजार । तस्बिर: हेमन्त केसी/रासस

मणि  शाह
१. विषय प्रबेश: 
आठविसकोट नगरपालिका नेपालको ‍रुकुम पश्चिम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रहेको छ । संघिय व्यवस्था अनुसार यो नगरपालिका कर्णाली प्रदेश अन्तरगत प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिम जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं क मा पर्दछ । आठविसकोट नगरपालिका रुकुम पश्चिम जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये एक हो ‍। नेपालको संविधान २०७२ को भाग ४ धारा ५७ अनुसार स्थानीय तह पुनसंरचना आयोगको सिफारिसमा २०७३ फागुन २७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकको निर्णयअनुसार यस नरगरपालिकामा साविकका ६ वटा गाविस स्यालाखदी गोतामकोट आठविसकोट आठविस डाँडागाउँ घेत्मा र मग्माका ७ र ८ वडा गरी ४७ वडाहरुलाई समावेश गरी स्थापना गरिएको हो । यस नगरपालिकाको पूर्वमा रुकुम जिल्लाको बाँफीकोट गाउँपालिका उत्तरमा डोल्पा जिल्ला पश्चिममा जाजरकोट जिल्ला र दक्षिणमा सानीभेरी गाउँपालिका अवस्थित रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल ५६०.३४ वर्गकिलोमिटर रहेको छ । आठविसकोट नगरपालिकाको सामाजिक तथा ऐतिहासिक पक्ष अति महत्वपूर्ण रहेको छ । यस ‍आलेखमा यिनै पक्षका केहि आयामहरुलाई प्रष्ट्याउने प्रयास गरिएको छ ।
२. आठविसकोटको नामाकरण : 
आठविसकोट नगरपालिकाको वडा नं १४ को बाँकेगाउँदेखि वडा नं ७ को डाँफेगाउँसम्मका १२ वटा गाउँ रहेको क्षेत्रलाई सीमा निर्धारण गरी रुकुमे राजा दारे जैतम बम्मका राइला राजकुमार कालु बमले अंश स्वरुप राज्य पाएको र उक्त राज्यमा घर कुरिया गणना गर्दा १६० अर्थात विस निर्धारक संख्याको गणना गर्दा हुन आउने एक विस दुइ वीस हुदै आठ वीस संख्यामा भएकाले यस राज्यको नाम आठविस रहेको र राज्यको मुकाम अर्थात राजधानी कोटमा रहने प्रावधान समेत जोड्दा आठविसकोट नामाकरण भएको पाइन्छ ।  

३. सामाजिक पक्ष: 
समाज एकभन्दा धैरै मानिसहरुको समुदाय हो । समाजले एउटै सहन सहन, मूल्य मान्यता आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरुको समूहलाई बुझाउँदछ । यसले कुनै विशेष उद्देश्य लिएर निर्माण गरिएका संघ संस्थालाई पनि बुझाउने गर्दछ । समाज शब्दले गाउँ टोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरुको समूहलाई बुझाउँछ । समाज परिवारको इकाइहरुको सम्पूर्णता हो । आठविसकोट नगरपालिकाभित्र सामाजिक पक्षको अध्ययन गर्दा निम्न आधारमा विशेषतामूलक समाजको निर्माण तथा विनिर्माण हुनेगरेको पाइन्छ ।
(क) जात जाति
(ख) आगमन
(ग) धर्म
(घ) राजनीति
(ङ) भूगोल
(च) उमेर समूह
(छ) लिंग आदि ।

आठविसकोट नगरपालिका भित्रका सामाजिक समूह निर्माणको पहिलो र बलियो आधार जातजाति हो । जातिगत समाजले आफ्नो छुट्टै सहन सहन, चाल चलन, मूल्य मान्यता र उद्देश्य बोकेको हुन्छ । वर्ण व्यवस्था बमोजिम वर्गीकरण गरिएका चार वर्ण र छत्तिस जातका अवशेषहरु अहिलेसम्म यथावत छन् । ब्राह्मण, ठकुरी, क्षेत्री, मगर र दलित जस्ता जातिगत समूहको सामाजिक मूल्य मान्यता र परम्परागत रीतिरिवाज आआफ्नै किसिमका छन् ।  जातजाति अनुसार यस नगरपालिकाको जनसंख्या सम्बन्धी विवरण निम्नानुसार रहेको छ –

सि न   जातजाति     घरधुरी संख्या       जनसंख्या            प्रतिशत
१       क्षेत्री                २७१७               १४५६०                 ३८.२३
२     दलित                २३८४                १२९०५                ३३.८८
३     ठकुरी                ८०८                  ४५९०                 १२.०५
४     मगर                 ८७८                 ४५७५                 १२.०१
५   ब्राह्मण                  १८८                ९८९                    २.६०
६   सन्यासी                ५१                   २८६                   ०.७५
७    गुरुङ                  ११                   ५६                      ०.१४
८    अन्य                   १                     ४                       ०.०११
  जम्मा                  ७०६३                ३८०८३                 १००.००

स्रोत: घरधुरी सर्वेक्षण २०७६

वि स १२५० तिर गोतामकोटको कोट, आठविसकोटको ठूलाकोट र दाँजेमा जाड (जार/भोटे) र खस समुदायका केही मानिसहरुले आवादी गरी बसोबास शुरु गरेको पाइन्छ । गोताम र ठूलाकोटमा आवादी शुरुभएदेखि सिंजाको खस साम्राज्य अन्तरगत जाडहरुले प्रशासकको रुपमा रही शासन संचालन गरे । वि स १३७५ तिर अत्री गोत्रीय काशीदासका ७ औ पुस्ताका कावरु (कापडी) ले सिंजा नरेशबाट  विर्तास्वरुप गोतामकोट पाएपछि आर्यहरुको पनि बसोबास शुरु भएको पाइन्छ । सिंजा/जुम्ला क्षेत्रबाट आएका गौतम ब्राह्मण, क्षेत्री,  तिरुवा लगायतको समुदाय गोतामकोटमा रहेको छ । प्राय जसो ठकुरीहरु जुम्लाहुँदै रुकुम र रुकुमबाट वि स १६०० तिर राज्य संचालनको क्रममा आएका हुन । ठकुरीसँगै आएका क्षेत्री मगर दलित लगायतको समुदाय आठविसकोट नगरपालिकाभरि यत्रतत्र छरिएर रहेका छन् भने पूर्वी रुकुमतिरबाट बसाइँ सरी आएका मगरहरु घर्तीगाउँ, ठूलीबार्खू, सानीबार्खू, डाँडागाउँ र घेत्मामा बसोबास गरिरहेका छन् । जुम्लातिर आएका दलितहरुको बस्ती खदि र बाग्लुङ्गतिरबाट आएका दलितहरुको बस्ती गोइरीमा रहेको छ । 

जाड र खसहरु विशेष गरेर प्रकृतिपूजक थिए । उनीहरु सूर्य वायू र मष्टोको पूजा गर्थे । आर्य समुदायको आगमनभएपछि जाडहरु विस्थापित भए भने खसहरुले विस्तारै हिन्दु परम्परा अगाल्न थाले । हाल नगरपालिकाभित्रका अधिकांश मानिस हिन्दु धर्म मान्छन् भने केहीले भने क्रिष्चियन धर्म अगाल्न थालेका छन् । 

आठविसकोटको राजनैतिक इतिहासलाई हेर्दा सत्ताको बागडोर सम्हाल्नेहरुको पक्ष र सत्ता बाहिर रहनेहरुको पक्षबीचमा टकराव हुने गरेको पाइन्छ । जाडहरु निर्ममतापूर्वक लखेटिएका थिए । शाहीहरुद्वारा गोतामकोटमा र आठविसकोटमा राज्य निर्माण गरी मल्ल प्रशासकहरुलाई  विस्थापित गरेका थिए ।  नेपाल एकिकरणको समयमा यहाँका राजाहरु एकिकरणको विपक्षमा रही प्रतिरोध गरेका कारण आठविसे राजा मारिए भने गोतामकोटका राजा धपाइए । आठविसे राजकुमारले नेपालको केन्द्रीय राज्यसत्ताको विरुद्द विद्रोह गरेका थिए । डिट्ठा धन्नु मल्लहरु धपाइए । जिम्मुवाल शेरजंग शाहले राज्यकोष हिनामिना गरेवापत र ‍………. (दलित केटीबाट बच्चा जन्माएको) को मुद्दा खेपी जेल सजाय खेप्नुपर्यो । पञ्चायत कालमा यहाँका राजनीतिज्ञहरु ध्रुवविक्रम पक्षधर र गोपालजी पक्षधर भएर विभक्त भए । बहुदल आएपछि नेपाली कांग्रेस नेकपा एमाले संयुक्त जनमोर्चा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पार्टीमा आवद्ध भएको पाइन्छ । वि स २०५२ सालमा शुरु भएको सशस्त्र विद्रोहको नेतृत्व आठविसकोट नगरपालिका क्षेत्रबाट क. निर्भर लगायतले गरेका थिए । विद्रोही पक्षबाट लोकेन्द्रबहादुर बटाला र वीरेन्द्रकुमार शाह मारिए भने राज्यपक्षबाट बलराम गौतम लोकेन्द्र ओली  लयायत मारिए । बहुदलीय व्यवस्थामा यस नगरपालिकाका अधिकांश गा वि स हरुमा पहिलो अवधिमा नेपाली कांग्रेस र दोस्रो अवधिमा नेकपा एमालेले सत्ता चलाएका थिए भने संघीयतापछिको पहिलो स्थानीय सरकार नेकपा माओवादी केन्द्रले संचालन गरिरहेको अवस्था छ । यस प्रकार राजनीतिक आस्था, सत्ता पक्ष, प्रतिपक्ष तथा विद्रोही पक्ष जस्ता समूहका आधारमा पनि भिन्न भिन्न सामाजिक स्वरुप निर्माण हुने गरेको देखिन्छ ।

४. ऐतिहासिक पक्ष: 
विगतमा घटित विशिष्ट घटना नै इतिहास हो अर्थात प्राचिनदेखि नविनतातर्फ आउने मानव जातिसँग सम्बन्धित घटनाहरुको वर्णन नै इतिहास हो । विगतमा घटेका घटनाहरुको कालक्रमिक अध्ययन इतिहासमा गर्ने गरिन्छ । आठविसकोट नगरपालिकाको ऐतिहासिक पक्षको अध्ययन गर्दा जाडहरुले गोताममा आवाद गरी वस्ती बसाएको समयदेखि हालसम्म भएका राजनीतिक परिवर्तन र त्यस क्रममा घटेका महत्वपूर्ण घटनाहरुलाई लिनुपर्दछ । आठविसकोट नगरपालिकाको इतिहास अध्ययनलाई सजिलोका लागि निम्न अनुसारको चरणमा विभाजन गर्न सकिन्छ –
(क) प्राथमिक चरण
(ख) माध्यमिक चरण
(ग) पूर्व आधुनिक चरण 
(घ) आधुनिक चरण र
(ङ) उत्तर आधुनिक चरण

(क) प्राथमिक चरण
आठविसकोटको इतिहासको प्रथम चरण वि स १२५० देखि वि स १५९९ सम्मको समयावधिलाई मान्न सकिन्छ । वि स १२५० तिर जाडहरुको समूह गोतामकोट आइ कोट मालिका र सुम्पेमा बसोबास गरे । त्यसैगरी वि स १२७५ तिर जाडहरु ठूलाकोट ठूलाचौर बार्खू र गोइरी जस्ता ठाउँमा विस्तार भए । खसहरुको समूह वि स १२६० तिर गोताममा प्रवेश गरी मिग्री, रिम्का र दाँजेमा बसोबास गरेको पाइन्छ । यस चरणमा गोतामकोट, मालिका, सुम्पे, रिम्का, मिग्री, दाजे, ठुलाकोट, ठूलाचौर, बटालागाउँ, बार्खु र गोइरी जस्ता ठाउँमा आवादी भइ बस्ति समेत बसेको पाइन्छ । यस चरणमा गोताम र आठविस गरी दुइवटा प्रशासनिक इकाइका रुपमा यो क्षेत्र सिंजा साम्राज्य अन्तरगत रहेको थियो । जाडहरुले स्थानीय प्रशासकको रुपमा कार्य गर्थे । वि स १३५० तिर अत्री गोत्रीय गौतम ऋषिले गोताम आइ तपस्या गरे । वि स १३७५ तिर अत्री गोत्रीय काशीदासका ७ औ पुस्ताका कावरु (कापडी) मल्लले सिंजा नरेशबाट  विर्तास्वरुप गोताम पाएपछि जाडहरु धपाइए । जाडहरुको शासन हट्यो र मल्लहरुले विर्तावाल प्रशासक भै कार्य गरे । मल्लहरुको समूह पहलमान र लडाकू थियो । त्यो समूहमा गौतम ब्राह्मण, बोहरा, तिरुवा, ढोली आदि थिए । यसरी यस क्षेत्रमा कापरु  सँगै आएका आर्यहरुको  बसोबास पनि शुरु भएको  पाइन्छ । वि स १४५० सम्म मल्लहरुले प्रशासकको रुपमा रहि शासन गरे सिंजा साम्राज्यको शासनमा राजा मलै बर्माको प्रवेशसँगै गोताम र आठविसमा मल्लहरुको विर्ता हरण भयो । मलै बर्माका माइला छोरा पिताम्वरले रुकुम राज्य पाएसँगै आठविस र गोताम रुकुम राज्यको वि स १५९९ सालसम्म प्रशासनिक इकाइका रुपमा रहे । 

(ख) माध्यमिक चरण
हाल आठविसकोट नगरपालिका अन्तरगत पर्ने गोतामकोट र आठविसकोट छुट्टाछ्ट्टै राज्य बनेदेखि ती राज्यको स्वतन्त्र अस्तित्व समाप्त नहुदासम्मको समयावधी अर्थात वि स १६०० सालदेखि वि स १८४३ सालसम्मको समयावधीलाई माध्यमिक चरण अन्तरगत राख्न सकिन्छ । वि स १६०० सालमा रुकुम राज्यका राजा जैतम बम्म (दारे जैतम) ले आफ्ना  ७ भाइ छोराहरुलाई रुकुम राज्य ७ थपौला राज्य हुनेगरी अंशस्वरुप विभाजन गरिदिए । फलस्वरुप राइला छोरा कालु बमले आठविस राज्य र काइला छोरा सेतु बमले गोताम राज्य अंश स्वरुप पाए । यसरी कालु बमले स्थापना गरेको आठविस राज्यमा राजा कालु बम जगमल, श्रीमल हुँदै राजा सयरुप शाही र राजा रणउद्दिम शाहीसम्म पुग्दा जम्मा १२ पुस्ताका १२ जना राजाले राज्य गरे । यो राज्यमा बाँकेगाउँ, ज्यामिरकोट, घेत्मा, गोइरी, सानी बार्खू, ठूली बार्खू, झिनचौर, बटालागाउँ, घर्तीगाउँ, कोट, दाजे र डाँफेगाउँ गरी जम्मा १२ गाउँ पर्दथे । वि स १८४३ मा नेपाल एकिकरण (गोर्खो पर्ने) को क्रममा भागेर साततले गुफामा लुकेका राजा रणउद्दिम शाही र राजकुमारीलाई गोर्खाली सेनाले पक्री मार्यो र आठविस राज्य नेपालमा विलय भयो । राजाको सम्पूर्ण सम्पति सेरो खारो समेत खाने र आठविस राज्यको रेखदेख तथा बन्दोबस्ती गर्ने जिम्मा हित कल्चु शाहीलाई दिइयो । रुकुम राज्यमा विद्रोह गरी त्यहाँका राजा (नाताले आफ्ना दाइ पर्ने) लाई काटी राजा हुन खोजेका राजकुमार विभूति शाही  आफ्ना अर्का भाइसहित   हालको भण्डारीकाँडा (मुसिकोट) मा आइबसेका थिए । सगोत्री आठविसे राजालाई गोर्खोले मारेको र त्यहाँ गएर राजा हुन सकिने ध्येयका साथ राजकुमार विभूति शाही खदि हुँदै आठविसकोट प्रवेश गरे । आठविस  राज्य फिर्ता लिने उद्देश्यले जुम्लाका काजी शोभान शाही, डोटीका राजा दिप शाही, अछाम राज्य र बाँफी राज्यको सहयोगमा वि स १८४६ मा ठूलाकोटमा आइ आठविस राज्य स्वतन्त्र भएको र विभूति शाहीले आफू राजा भएको घोषणा गरे ।  हित कल्चु शाहीले नेपाल गइ विन्ती विसाउदा नेपाली सेना दाजे गाउँमा प्रवेश गरे । हालको मारिकाट्टे स्थानमा गोर्खाली सेना र आठविसे झराल सेनावीच मारकाट चल्यो । विभूति शाही हारमानी जोगीको भेषमा भागेर गए । राजा हुने चाहना राखेका राजकुमार विभूति शाहीको विद्रोह रुकुम र आठविस दुवै ठाउँमा असफल भयो । आठविस राज्य सधैका लागि नेपाल अधिराज्यमा गाभियो ।

सेतु बमले स्थापना गरेको गोताम राज्यमा १० पुस्ताका ११ जना राजाले राज्य गरे । यो राज्यमा पहाडा, खदी, मगा, थापागाउँ, भण्डारीगाउँ, रोकाजा, रिम्का, विष्टगाउँ, कोट, तिरगाउ, होली र छिमी गरी जम्मा १२ गाउँ पर्दथे । वि स १८४३ मा राजा मोतिमर्दन शाहीका पालामा गोताम राज्य एकिकरण भयो । गोर्खाली सेना गोताम पुग्दा राजा मोतिमर्दन शाही भागेकाले गोताम विना लडाइँ नेपालमा विलय भयो ।

यो चरण आत्म निर्भर उत्पादन प्रणाली र सम्बृद्धीको युग थियो । राज्यमा खपत हुने अन्न कपडा उत्पादन हुन्थे । हातहतियार बनाउने कारखाना खोलिएका थिए । तामा खानी फलाम खानी संचालमा थिए । मठ मन्दिर निर्माण गरिएका थिए । 

(ग) पूर्व आधुनिक चरण 
आठविस राज्य र गोताम राज्य सिंगो नेपालमा एकिकरण भएदेखि राणा शासनको अन्त्य नहुँदासम्मको समयावधीलाई आठविस राज्यको पूर्व आधुनिक चरण मान्न सकिन्छ । यो चरण वि स १८४४ सालदेखि वि स २००७ सालसम्मको समयावधि हो । आठविस राज्य एकिकरण लगत्तै हित कल्चु शाहीलाई रेखदेखको जिम्मा दिइयो । विभूति शाहीको विद्रोहपश्चात काठमाडौँबाट आएको नेपाली सेनाको टुकडीले रेखदेख गर्नथाल्यो । वि स १८५६ तिर जिम्मुवाल सयरुप शाहीले ठेक स्वरुप आठविस राज्य संचालन गर्ने जिम्मा पाए । त्यसपछि क्रमश जिम्मुवाल अजवीर शाहीले जिम्मा पाए । त्यसपछि जिम्मुवाल चन्द्रवीर शाही र डिट्ठा धन्नु मल्लले जिम्मा पाए । त्यसपछि जिम्मुवाल जगजंग शाह (शाही) ले आठविस ठेक राज्य संचालन गरे । त्यसपछि जिम्मुवाल शेरजंग शाह ले जिम्मा पाए त्यसपछि जिम्मुवाल नर सिंह शाह र पूर्ण बहादुर शाहले संचालन गरे । यो चरणमा ठेक्कामा स्थानीय शासकहरुले कबुल गरिएको रकम बुझाउनै पर्ने र आफूलाई समेत मुनाफा निकाल्नु पर्ने भएकाले जनतालाई निकै सताउने गर्थे । यो समयावधिमा यहाँ भएका कारखाना तथा घरेलु उद्योगहरु बन्द गराइयो ।

गोताम राज्य एकिकरण भएपश्चात ठेक राज्यको रुपमा संचालन भयो । एकिकरण पश्चात जिम्मावाल अकवर शाहीले जिम्मा पाए । त्यसपछि जिम्मावाल जयरुप शाहीले जिम्मा पाए । त्यसपश्चात वि स १८८१ तिर यो राज्य विर्ता राज्यको रुपमा जाजरकोटी राजपरिवारले प्राप्त गरेकाले त्यतैबाट संचालन भयो । 

यो चरण असाध्यै उत्पीडनको समय थियो । विर्ता राज्यका शासक र ठेक्का राज्यका शासक दुवैले जनतामा अन्याय अत्याचार खुवै गर्थे । मनपरी दण्ड जरिवाना उठाउथे । मैयासाहेव र दुलहीसाहेव जसरी कोरीबाटी गरी चिटिक्क हुन अरु महिलाले पाउँदैनथे । जनताले शासकका हाराहारीका राम्रा ठूला घर बनाउन पाउँदैनथे । जनताका घरमा भएका राम्रा बस्तुभाउँ राम्रा छोरी बुहारीको पहिलो उपभोग शासकहरुले गर्थे । यो समय चरम वर्वर युग थियो ।

(घ)  आधुनिक चरण
वि स २००७ सालमा प्रजातन्त्रको उदय भएदेखि वि स २०६२/६३ को जनआन्दोलनको समयसम्मको अवधिलाई आठविसकोटको इतिहासमा आधुनिक चरण मान्न सकिन्छ । राणा शासनको अन्त्यसँगै आठविसकोट ठेक राज्यका शासक र गोतामकोट विर्ता राज्यका शासकहरुको पनि देहवशान भयो । जनताले कारागार मुक्त भएसरी महसुस गरे । एउटै परिवारको पुस्तौँनी शासन खपेका जनताले आफ्नो शासक आफै चुन्न पाउने भए ‍। फलस्वरुप गोतामकोटमा कर्णबहादुर शाही र आठविसकोटमा वीरबहादुर मल्लजस्ता उदारवादी र न्यायप्रेमी प्रधानपञ्च जनप्रतिनिधीको रुपमा लामो समयसम्म चुनिइरहे । जिल्ला पञ्चायत/विकास सदस्यमा क्रमश बल बहादुर चन्द राजनकुमार शाह लोकेन्द्रकुमार चन्द गंगाराम गौतम दिपाराम उपाध्याय चुनिए । प्रधानपन्चको रुपमा क्रमश गोरख बहादुर शाही वीरबहादुर मल्ल कर्णबहादुर शाही जय बहादुर शाही शंकरविक्रम शाह लाल बहादुर बोहरा विष्णुजंग शाह भुवनेश्वर उपाध्याय लोकेन्द्रबहादुर बटाला निर्वाचित भए । वि स २०४६ पश्चात गा वि स अध्यक्षको रुपमा केशर बहादुर मल्ल शिव बहादुर ‌ओली लोकेन्द्र बहादुर बटाला यज्ञबहादुर शाही पशुपति बहादुर थापा शेरबहादुर शाह राम बहादुर ओली विजयी भए ।
वि स २०५२ साल फागुन १ गते आठविसकोट नगरपालिकाको राडीज्यूलामा रहेको प्रहरी चौकी आक्रमण गरेर नेकपा माओवादीले सशस्त्र जनयुद्धको शुरुवात गर्यो । यस क्रममा यस क्षेत्रबाट ‍क निर्भर लगायतले जनयुद्धको नेतृत्व गरे । जनयुद्धका क्रममा राज्यपक्षबाट बलराम गौतम लोकेन्द्र ‌ओली लगायतले शहादत प्राप्त गरे भने विद्रोही पक्षबाट लोकेन्द्रबहादुर बटाला वीरेन्द्र कुमार शाह लगायतको हत्या गरियो । यसरी आठविसकोट नगरपालिकाबाट थुप्रै मानिहरु जनयुद्धमा सामेल भए ।

(ङ) उत्तर आधुनिक चरण
वि स २०६२/६३ को जनआन्दोलनको समयदेखि हालसम्मको समयावधी आठविसकोटको इतिहासको उत्तर आधुनिक चरण मान्न सकिन्छ । नेपालमा संघीयता कार्यान्वयन भएसँगै स्थानीय सरकारको रुपमा आठविसकोट नगरपालिका निर्माण भयो । वि स २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपश्चात नगर प्रमुखमा गोर्ख बहादुर के सी (सन्देश) र नगर उपप्रमुखमा गीता नेपाली विजयी भए । यस समयमा आठविसकोट नगरपालिकाको सडक उध्योग खानेपानी विजुली अस्पताल र विद्यालयको भौतिक पूर्वाधार निर्माण तिव्रतर गतिमा भयो । त्यसैगरी वि स २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा रवि के सी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका छन् । 

५. उपसंहार: 
वि स १२५० तिर बसोबास शुरु भएको यस आठविसकोट नगरपालिकाका विभिन्न क्षेत्रहरु कर्णाली प्रदेशमा बाइसे राज्यका रुपमा आठविस राज्य र गोताम राज्यका रुपमा उदय भए । लामो समयसम्म कमजोर राज्यका रुपमा रहिरहदा यी स्थानमा राजनीतिक रुपमा विभिन्न आरोह, अवरोह र उथलपुथल भइरहेको पाइन्छ । सामाजिक रुपमा भने विभिन्न जातजाति, वर्ग, समुदाय सामाजिक सद्भाव कायम राख्दै मिलेर बसेको पाइन्छ । बाइसे राज्यकालको समयमा आत्मनिर्भर आर्थिक अवस्थामा रहेको आठविसकोट नगरपालिकाको क्षेत्र नेपाल एकिरणपछि एकात्मक राज्यकालको समयावधिमा अत्यन्तै जरजरपूर्ण अवस्थामा पुग्यो । नेपालमा संघीय प्रणाली लागु भएपश्चात पुन: आत्मनिर्भर  आर्थिक अवस्था सिर्जना हुँदै आर्थिक सम्बृद्धीको लयमा आठविसकोट नगरपालिका अगाडि बढेको छ। 

सन्दर्भ सामग्री
शाह, प्रभात विक्रम, २०७०:  आठविस राज्यको इतिहास 
शाह, मणि, २०७०:  आठविसे समाल बंशावली
सुवेदी, राजाराम, २०५८:  कर्णाली प्रदेशको मध्यकालिन इतिहास
एटम, नेत्र, २०६९:  अनुसन्धान पद्धति
पोखरेल, प्रा डा माधव प्रसाद र अरु, २०७५:  कर्णाली प्रदेशको जाति भाषा र सांस्कृतिक सम्बृद्धि ध्ययन प्रतिवेदन

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update