रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२, को आधारभुत स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । यस अघि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको केन्द्रले अब भने आफ्नै भवनबाट सेवा प्रवाह थालेका हो । केन्द्रको आफ्नै भवन बनेपछि सेवा प्रवाह पनि आफ्नै भवनबाट प्रवाह गर्न थालिएको हो ।
पूरेनीचौरमा संघीय सरकारको अनुदानमा आधारभुत स्वास्थ्य केन्द्रको भवन बनेको थियो । स्वास्थ्य केन्द्र इन्चार्ज यशोदा केसीले आफ्नै कार्यालयबाट सेवा प्रवाह थालिएको जानकारी दिनुभयो । यस अघि साँघुरो ठाउँबाट असजिलोकाबीच सेवा प्रवाह गरिरहेकामा अब भवन बनेपछि भने सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई समेत सजिलो भएको इन्चार्ज केसीले बताउनुभयो ।
मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमले स्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्नुभएको थियो । जनताको नजिक नजिक स्वास्थ्य सेवा प्रवाहको उद्देश्य अनुरुप नगरपालिकाले काम गरिरहेको नगरप्रमुख गौतमले बताउनुभयो । आधारभुत स्वास्थ्य सेवा जति सक्यो जनताको नजिक र पहुँचमा लैजानका लागि नगरपालिका हरतरहले लागिरहेको भन्दै नगरप्रमुख गौतमले त्यसै अनुसार हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो ।
‘सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा आइसकेका छन्, त्यसमध्य केहीको भवन बनसिकेको र अरुको पनि छिट्टै बन्ने गरी योजना बनेको छ,’ नगरप्रमुख गौतमले भन्नुभयो । पहिला स्वास्थ्य चौकी भएका बाहेक अरु सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।