Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिम ख मा माओवादी र कांग्रेसकाे दाबी


सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ । बाँकी ९८ सिटमा कांग्रेस र लाेसपाविच बाँडफाँड हुने छ ।
Screenshot_20221008-050200_Chrome1665190764.jpg
रूकुम पश्चिममा भने एउटा निर्वाचन क्षेत्रमा टुंगिन सकेकाे छैन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ख मा कांग्रेस र माओवादीकाे दाबी छ । सत्ता गठबन्धनले यसमा कुनै टुंगाे लगाएकाे छैन् । रूकुम पश्चिममा कांग्रेसले कम्तिमा एउटा निर्वाचन क्षेत्र आफुले पाउनुपर्ने माग गरिरहेकाे छ । तर यसअघि निर्वाचन क्षेत्र नम्बर क मा दाबी गरिरहेकाे कांग्रेस एकाएक निर्वाचन क्षेत्र नम्बर ख मा केन्द्रित भएकाे छ ।

गठबन्धनले शुक्रबार तयार पारेकाे सहमतिकाे ड्राफ्टमा प्रतिनिधि सभा र निर्वाचन क्षेत्र नम्बर क माओवादीकाे भागमा परेकाे छ । निर्वाचन क्षेत्र नम्बर ख मा भने माओवादी केन्द्र र कांग्रेस दुवैकाे नाम राखिएकाे छ । यसले थप नयाँ तरंग सृजना गरेकाे छ । याे संगै गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नम्बर क बाट साझा उम्मेद्वार बन्ने कांग्रेस कर्णाली प्रदेश महामन्त्री समेत रहनुभएका कृष्ण राेकायकाे सम्भावना सकिएकाे छ ।

याे क्षेत्रबाट माओवादीले महेन्द्र केसी पारसमणिलाई एकल सिफारिस गरेकाे छ । यसअघि निर्वाचन क मा रहेकाे रसाकसी अब निर्वाचन क्षेत्र नम्बर ख मा सरेकाे छ । यस क्षेत्रबाट माओवादीले पाेलिटब्युराे सदस्य राजकुमार शर्मा आर्टलाई एकल सिफारिस गरेकाे छ । मुख्य प्रतिस्पर्धी कांग्रेसले पार्टी जिल्ला सभापति प्रेमप्रकाश ओली लगायतकाे नाम सिफारिस गरेकाे छ । तुलनात्मक रूपमा क मा भन्दा माओवादी ख मा बलियाे छ ।

कांग्रेस भने ख काे तुलनामा क मा राम्राे छ । क निर्वाचन क्षेत्रमा पर्ने मुसीकाेट नगरपालिकाकाे प्रमुख र बाँफिकाेट गाउँपालिकाकाे अध्यक्ष कांग्रेसले जितेकाे छ । मनाेनयन दर्ताका लागि १ दिन मात्र बाँकी रहेकाे अवस्थामा भागबण्डा नमिल्दा दलहरू आ-आफ्नै दाबीमा छन् । माओवादीले यसअघि नै सबै क्षेत्र आफुले पाउनुपर्ने बताईसकेकाे छ ।

जिल्ला संयाेजक गाेविन्द राेकाले यसअघिकाे जीतका आधारमा भागबण्डा हुनुपर्ने र रूकुम पश्चिमका तीन वटै क्षेत्रमा माओवादीले जितेका कारण माओवादीले पाउनुपर्ने अन्यथा राम्राे नहुने सामाजिक सञ्जाल फेसबुक मार्फत केही दिन अघि बताउनुभएकाे थियाे । कांग्रेस भने जुन भएपनि एउटा निर्वाचन क्षेत्र आफुलाई चाहिने बताउदै आएकाे छ । स्थानीय तहकाे निर्वाचनमा कांग्रेसले एमालेसंग तालमेल गरेकाे थियाे । यही कारण माओवादी कांग्रेसलाई सिट दिने मनस्थितिमा देखिन्न । उता कांग्रेस भने माओवादीकै हाराहारीमा मत रहेकाेले कम्तिमा पनि एउटा क्षेत्र पाउनुपर्ने अडानमा छ । साथै कांग्रेसले देशभरीकाे गठबन्धन अनुसार हुनुपर्ने बताइरहेकाे छ ।

केन्द्रीय गठबन्धनले टुंगाउन नसकेपछि अब जिल्लामा कांग्रेस-माओवादीकाे गठबन्धन क्षीण बनेकाे छ । माओवादी र कांग्रेस मुख्य प्रतिस्पर्धि भएर चुनाव लड्ने सम्भावना बढ्दै गएकाे छ । स्थानीय तहकाे चुनाव जसरी कांग्रेस र एमाले तथा माओवादी र एकीकृत समाजवादी मिलेर चुनाव लड्ने सम्भावना समेत बढेकाे चर्चा चल्न थालेकाे छ । 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update