Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीका ३ वडाका घरघरै धारा
खानेपानी योजना उद्घाटनका क्रममा पानी पिउदै पूर्व मन्त्री जनार्दन शर्मा ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ३ वटा वडा एकै पटक एक घर एक धाराको पहुँचमा पुगेका छन् । १, २ र ३ नम्बर वडाका प्रत्येक घरमा धारा जडान गरिएको छ । ३ नम्बर वडाको विजयश्वरी–चौरजहारी सुख्खा खानेपानी आयोजना निर्माण भएसँगै नगरपालिकाको बाक्लो बस्ती रहेको चौरजहारी बजार सहित ३ वडाका सर्वसाधारण खानेपानीको सहज पहुँचमा पुगेका हुन् ।

२१ करोड ६२ लाख ३४ हजार ५ सय ५ लगानीमा बनेको योजनामा १९ करोड ५० लाख सुख्खा खानेपानी अन्तरगत संघिय सरकारको बजेट रहेको छ भने २ करोड १२ लाख ३४ हजार ५ सय ५ को स्थानीयले श्रमदान गरेको छन् । आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर बटालाका अनुसार यस योजनाबाट एक हजार ६ सय घरधुरी लाभान्वित हुनेछन् भने अहिले एक हजार एक सय घरमा धारा जडान गरिसकिएको छ ।

बाँकी घरमा पनि धारा जडानको काम भइरहेको छ केही दिनमै सबै घरमा यो काम सकिने अध्यक्ष बटालाले बताउनुभयो । उहाँका अनुसार योजना सुरु गर्दाको घरसंख्या एक हजार ६ सय भए पनि अहिले घर संख्या बढ्न सक्ने सम्भावना बढेर गएको छ । स्थानीयले मुख्य लाइनदेखि आफ्नो घरसम्म आफैँले खानेपानीको लाइन लिएका छन् भने मिटर पनि आफै किनेर जडान गरेका छन् । एक दिनमा करिब २ घण्टा पानी सञ्चालन गरिन्छ ।

अब चौरजहारीमा लामो समयसम्म पानीको समस्या नहुने अध्यक्ष बटालाको दावी छ । चौरजहारीका होटल व्यवसायी विशाल रावतले एक घर एक धाराको योजनाले सजिलै पानी पुगेको बताउनुभयो । ‘दैनिक २ घण्टा आउने पानी पनि पर्याप्त हुन्छ,’ उहाँले भन्नुभयो, ‘मैले व्यवसाय थालेको ११ बर्ष भयो यसबीचमा हरेक पटक पानीको समस्या व्यहोर्नुपर्यो तर यो आयोजनाबाट भने त्यो सममस्या टरेको छ ।’ यस अघि पानी भर्न मात्रै ५ देखि ६ घण्टा समय खर्चनुपर्ने बाध्यता अब टरेको र यो समयलाई व्यवसायमा लगाउन पाएकामा खुसी भएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update