नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति समेत रहनुभएका प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले आज सार्वजनिक गरेकाे उम्मेदवारकाे नामावलीमा उहाँकाे नाम छैन् । जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख मा उम्मेदवारी दिनुभएका ओलीको उम्मेदवारीमा दाबि विरोध परेको थियो । जसक्रममा उहाँलाई बैंकिङ कसुरमा दोषि पाइएपछि उहाँको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बैंकिङ कसुरमा दोषि ठहरिएकाले उहाँको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो । प्रदेश सभा ख तर्फ गठबन्धनका उम्मेदवार राजकुमार शर्माका तर्फबाट ओलीको उम्मेदवारीमा दाबि विरोध परेकाे थियो ।
अन्य कुनैपनि उम्मेदवारका विरुद्ध भने दाबि विरोध नपरेको बोहराले बताउनुभयो । ओली विरुद्ध उच्च अदालत सुर्खेतले गत वर्ष चेक अनादर गरेको ठहर गर्दै विगो भराउने र एक महिना सम्मको कैद सजायको फैसला गरेको थियो । रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका १, का सुदिप विकले दायर गरेको मुद्दामा २०७८ असार १६ गते फैसला गर्दै अदालतले ७ लाख २३ हजार ७ सय ५० विगो तिर्न र एक महिना कैद सजाय तोकेको थियो ।
साथै क्षेतीपूर्ति वापत २८ हजार ९ सय ५० रुपैयाँ तिर्न पनि अदालतले आदेश गरेको थियो । अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसारको कसुर गरेको ठहर गरेको गर्दै सजाय फैसला गरेको थियो । ओलीले विकलाई एनआइसी एसिया बैंकको चेक दिएको र उक्त खातामा पैसा नभएको ठहर गरिएको थियो ।
ओली यो फैसलाको विरुद्ध सर्वोच्च अदालत समेत जानुभएको छ ।