नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले नेपाली कांग्रेसले जिल्लामा गठबन्धनको निर्णय विपरित उम्मेदवारी दिएको बताएको छ । सत्ता गठबन्धनको निर्णय विपरित गठबन्धनकै विरुद्ध कांग्रेसले जिल्लामा उम्मेदवारी दिएको माओवादीको भनाई छ । जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ले आज सामाजिक सञ्जाल फेसबुक मार्फत कांग्रेसले गठबन्धन विरुद्ध उम्मेदवारी दिएको बताउनुभएको हो ।
कर्णाली प्रदेशका कुल २४ प्रदेश निर्वाचन क्षेत्र मध्येमा कांग्रेसले १२, माओवादीले १० र नेकपा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिने निर्णय भएको उहाँले जानकारी गराउनुभएको छ । सोही अनुसार रुकुम पश्चिमका दुई वटै प्रदेश सभामा माओवादीले उम्मेदवारी दिएको उहाँको भनाई छ ।
रुकुम पश्चिम माओवादीको भागमा परेको भएपनि कांग्रेसले रुकुम पश्चिममा सहमति विपरित उम्मेदवारी दिएको उहाँले बताउनुभयो । रुकुम पश्चिम सहित कांग्रेसले सहमति भन्दा बढी १४ वटा क्षेत्रमा उम्मेदवारी दिएकोले रुकुम पश्चिममा उम्मेदवारी फिर्ता लिई कांग्रेसले सहमति पालना गर्नेमा आफुहरु आशावादी रहेको रोकाले बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘हामीलाई आशा एवं विश्वास छ कि भोलि असोज २६ गते दिउसो १ बजेसम्म उहाँहरुले रुकुम पश्चिमको उम्मेदवारी फिर्ता लिएर गठबन्धनको सहमति पालना गर्नुहुनेछ ।’ कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभाका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।