Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती लोकमार्गमा जोखिमपूर्ण यात्रा 
सल्यानकाे जलेखर्कमा फसेकाे हायस तान्दै जेसिबि ।

रुकुम पश्चिम, सल्यान र दाङलाई जोड्ने राप्ती लोकमार्गमा जोखिमपूर्ण यात्रा गर्न यात्रुहरु बाध्य बनेका छन् । विभिन्न ठाउँमा पहिरोका कारण यात्रु जोखिम मोल्न बाध्य भएका हुन् । दाङ, सल्यान र रुकुम पश्चिमका विभिन्न ठाउँमा वर्षातका कारण सडकमा क्षेति पुगेको छ । 

ठाउँ ठाउँमा माथिबाट खसेको पहिरोले सडकमा क्षेति गरेको छ भने विभिन्न ठाउँमा सडक भासिएको छ । केही ठाउँमा पहिरोले सडक बगाइरहेको छ । जसका कारण यो लोकमार्गमा यात्रा गर्न ठूलो जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ । साथै यात्रा लामो र कष्टकर हुने गरेको छ । 

दाङको तुलसिपुर देखि सल्यानको कपुरकोटसम्म ठाउँ ठाउँमा पहिरोको जोखिम छ । क्षणमै कुन ठाउँमा पहिरो खस्छ भन्न सकिने अवस्था नभएको यातायात व्यवसायीहरुको भनाई छ । तुलसिपुर–कपुरकोट खण्डको अधिकांश ठाउँमा डबल कटिङ भएका कारण पहिरोको उच्च जोखिम छ । 

सानो पानी पर्दा पनि पहिरो खस्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता रहेको यात्रुहरुको गुनासो छ । सल्यानको बांगेलाखुरी बजार नजिकै सडक भासिएको छ भने जलेखर्कमा पनि सडक भासिएर समस्या भएको छ । त्यस्तै रुकुम पश्चिमको झुल्नेटा आसपासमा पनि सडक जोखिमपूर्ण छ । 

त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को राङ्टेमा पहिरोले बगाएको सडक मर्मत गरेर सुचारु गरिएको छ । तर अझैपनि जोखिम कायमै रहेको छ । राप्ती लोकमार्ग अन्तरगत नै मुसीकोट नगरपालिका ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा पुल नुहुँदा यात्रुहरुले हैरानि व्यहोरिरहेका छन् । 

खोलामा आउने बाढीले घण्टौंसम्म यात्रुलाई रोक्ने गरेको छ । सडक जोखिमका कारण यात्रा लम्बिनुका साथै कष्टकर हुने गरेको त्रिवेणी गाउँपालिकाका विकास ओलीको भनाई छ । पटक पटक मर्मत गरिएपनि मर्मत गरिएकै ठाउँ तथा अन्य ठाउँमा सडक अवरुद्ध हुने समस्याले जोखिम बढाएको यातायात व्यवसायीहरुको भनाई छ । 

जोखिम मोलेर गाडी चलाउने गरेको गाडी चालकहरु बताउने गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update