रुकुम पश्चिममा विभिन्न खाले विपतमा परेकाहरुको उद्धार, राहत, सहजिकरण लगायतका क्रियाकलापको नमूना अभ्यास गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयको आयोजनामा व्यवहारिक अभ्यास गरिएको हो । नेपाली सेनाको नरसिंह दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मको संयुक्त टोलीले उद्धारको नमूना अभ्यास गरेको हो ।
नरसिंह दल गणका ५ जना, नेपाल प्रहरीका ५ जना र सशस्त्र प्रहरी बलका ३ जना गरेर नमूना अभ्यास टोलीमा १३ जनाको सहभागिता रहेको थियो । वार्षिक कार्यक्रम अनुसार विभिन्न विपतमा परेर घाइते भएकाहरुलाई कसरी उद्धार गर्ने भनेर नमूना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो ।
जुनसुकै विपतमा पनि खटिने टिम तयारी अवस्था रहेको र आज उक्त टिमले नमूना अभ्यास गरेको उहाँको भनाई छ । यस खालको अभ्यासले अन्य निकायलाई समेत विपत् पछिको उद्धार, राहत र सहजीकरण जस्ता कुरामा जुट्न सन्देश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पहिरो, बाढी, यातायात दुर्घटना, भिरबाट लडि खोँचमा परेका व्यक्तिहरु र अन्य कारणवश खोँचमा घाइते अवस्थामा रहेका व्यक्तिहरुलाई उद्धार गर्ने तरिका प्रस्तुत गरिएको नरसिंह दल गणका गणपति प्रमुख सेनानी प्रमोद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुई खालको भौगोलिक अवस्थालाई आधार मानेर अभ्यास गरिएको हो ।
दुई वटा वेश बनाउनका लागि उपयुक्त स्थान भएको खण्डमा डोरीको सहायतामा स्ट्रचरको प्रयोगमा गरिने रोप रेस्क्यु र एउटा मात्र वेश बनाउन मिल्ने ठाउँमा पिकेटहरुको प्रयोग गरी एउटा वेश बनाई र्याप्लिङ वा क्लाइम्बिङको तरिकाबाट गरिने उद्धारको नमूना अभ्यास भएको उहाँले बताउनुभयो ।
उक्त अभ्यास नरसिंह दल गण सल्लेमा भएको थियो । अभ्यास अवलोकणका लागि मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।