रुकुम पूर्वमा सात जना बागी र एक जना स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धन उम्मेदवार तथा पार्टीबाट रुष्ट भएर बागी उम्मेदवारी दिएका सात जना र एक स्वतन्त्र गरी आठ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन मार्फत जानकारी गराएको हो ।
बागी उम्मेदवारी फिर्ता लिनेहरूमा प्रदेश (क)बाट नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढा मगर, माओवादी केन्द्रकै प्रदेश सदस्य संगम रोका मगर, ओमकुमारी शाही (मल्ल) माओवादी केन्द्रकै कालिप्रसाद रोका मगरले उम्मेदवारी फिर्ता लिनु भएको छ ।
यसैगरी प्रदेश (ख)बाट माओबादी केन्द्रका प्रदेश सदस्य गजेन्द्रबहादुर ओली, माओबादी केन्द्रकै दलप्रसाद कामी, नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्का र स्वतन्त्र उम्मेदवार सुरेश थापाले उम्मेदवारी फिर्ता लिनु भएको हो ।
बागी र स्वतन्त्र गरी १४ जनाले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका मध्ये अब माओबादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवार दिनु भएका चन्द्रराज झाँक्री मगर, प्रदेश (ख)बाट बागी उम्मेदवार अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल, स्वतन्त्रका उम्मेदवार नरहरि खड्का, पूर्णजंङ सिंह, प्रदेश (क)बाट माओबादी केन्द्र देखि बागी उम्मेदवार सुरुल पुन मगर र नेपाली कांग्रेसबाट बागी उम्मेदवार प्रदेश (क)बाट दुतकुमार पुन मगर (गुमाने)ले भने उम्मेदवारी फिर्ता नलिएका हुन् ।