Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वः बागी उम्मेदवारलाई पार्टीबाट निस्काशन

वाम लोकतान्त्रिक गठबन्धन रुकुम पूर्वको बैठकले पार्टीबाट बागी उम्मेदवार दिएकालाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ । केन्द्रीय गठबन्धन दलको निर्णय विपरित पार्टीका नेताकार्यकर्ताले स्वतन्त्र उम्मेदवार दिएकालाई पार्टी संगठनबाट निस्काशन गरेको निर्णय गरेको हो । 

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक होमप्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति केशरमान रोका मगर र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भीउमान घर्ती मगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ । 

विज्ञप्तिमा लेखिएको छ “गठबन्धन दलको केन्द्रीय भावना विपरित पार्टीको निर्णयलाई अवज्ञा गरी स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुलाई सम्बन्धित पार्टी संगठनबाट निस्काशन गर्ने तथा सम्पूर्ण जिम्मेवारीबाट हटाउनुका साथै पार्टीबाट कुनै पनि प्रकारको सहयोग नगर्ने गठबन्धन सम्बद्ध दल बिचमा निर्णय भएको जानकारी गराउँदछौँ ।” 

प्रतिनिधि सभा सदस्यमा माओबादी केन्द्रबाट पूर्णबहादुर घर्ती मगर, प्रदेश सभा (क)बाट माओबादी केन्द्रका तेजबहादुर ओली र प्रदेश (ख)बाट नेपाली कांग्रेसका धनबहादुर केसीलाई गठबन्धनको साझा उम्मेदवार रहनु भएको छ । 

जिल्लाबाट पनि पार्टीका विभिन्न व्यक्तिहरुले पार्टी तथा गठबन्धनको निर्णय प्रति रुष्ट भइ बागी उम्मेदवार दिनु भएको छ । माओबादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवार दिनु भएका चन्द्रराज झाँक्री मगर, प्रदेश (ख)बाट बागी उम्मेदवार अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल, प्रदेश (क)बाट माओबादी केन्द्र देखि बागी उम्मेदवार सुरुल पुन मगर र नेपाली कांग्रेसबाट बागी उम्मेदवार प्रदेश (क)बाट दुतकुमार पुन मगर (गुमाने)ले उम्मेदवारी फिर्ता लिनु भएको छैन् । 
 
 

 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update