Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा विपतमा हुने उद्धार सम्बन्धि नमुना अभ्यास
सुरक्षाकर्मीले विपतमा हुने उद्धार सम्बन्धि नमुना अभ्यास गर्दै ।

रुकुम पूर्वमा विभिन्न खाले विपतमा परेकाहरूको उद्धार, राहत, सहजिकरण लगायतका क्रियाकलापको नमुना अभ्यास गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिहीबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा व्यवहारिक अभ्यास गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धारको नमुना अभ्यास गरेको हो । 

वार्षिक कार्यक्रम अनुसार विभिन्न विपतमा परेर घाइते भएकाहरूलाई कसरी उद्धार गर्ने भनेर नमुना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । जुनसुकै विपतमा पनि खटिने टिम तयारी अवस्था रहेको र आज उक्त टिमले नमुना अभ्यास गरेको प्रजिअ सुनुवारको भनाई छ । यस खालको अभ्यासले अन्य निकायलाई समेत विपत पछिको उद्धार, राहत र सहजीकरण जस्ता कुरामा जुट्न सन्देश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

पहिरो, बाढी, यातायात दुर्घटना, भिरबाट लडि घाइते परेका र अन्य घाइते अवस्थामा रहेका व्यक्तिहरुलाई उद्धार गर्ने तरिका प्रस्तुत गरिएको हो । उद्धारको नमुना अभ्यासमा घटनामा परी घाइतेहरूलाई छिटो तथा सजिलो रूपले उद्धारको नमुना अभ्यास गरिएको थियो । नमुना अभ्यासमा डोरीको सहायतामा स्ट्रचरको प्रयोगमा गरिने रोप रेस्क्यु र एउटा मात्र वेश बनाउन मिल्ने ठाउँमा पिकेटहरुको प्रयोग गरी एउटा वेश बनाई क्लाइम्बिङको तरिकाबाट गरिने उद्धारको नमुना अभ्यास प्रस्तुत गरिएको सुनुवारले बताउनुभयो । 


अभ्यास अवलोकनका लागि जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, जिल्ला राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीवकुमार चौधरी, नेपाली सेनाका सेनानी बाबुलाल जिसी, नेपाली प्रहरीका डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डीएसपी रविन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update