नेपाली कांग्रेस रुकुम पश्चिमले पार्टी केन्द्रको बाध्यकारी निर्णय अनुसार जिल्लामा गठबन्धनलाई समर्थन गरेको जानकारी गराएको छ । मित्रवत प्रतिस्पर्धाका लागि पार्टीले आधिकारिक टिकट दिएर उम्मेदवारी दिएको भएपनि पार्टी केन्द्रको बाध्यकारी निर्णयका कारण उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई समर्थन गरेको कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।
पार्टीका कार्यबहाक जिल्ला सभापति हर्कसिंह खत्रीले एक विज्ञप्ती जारी गर्दै जिल्लामा मात्र गठबन्धन विपरित गएर गठबन्धन दल भित्रै प्रतिस्पर्धा गर्ने कुरा केन्द्रीय गठबन्धनको भावना विपरित हुने भन्दै पार्टी केन्द्रले उम्मेदवारी फिर्ता लिन भनेको जानकारी गराउनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभामा दिएको उम्मेदवारी फिर्ता गर्न भनी केन्द्रले निर्देशन दिएपछि उम्मेदवारी फिर्ता गरी गठबन्धनलाई समर्थन गरेको विज्ञप्तीमा उल्लेख छ । कांग्रेसले उम्मेदवारी फिर्ता लिने र गठबन्धनलाई समर्थन गर्ने निर्णयले सिंगो रुकुमेली कांग्रेस र आम मतदाताहरुमा असहज परिस्थिति सृजना भएको भन्दै माफि समेत मागेको छ ।