Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीका ५ ठाउँमा आँखा जाँच शिविर संचालन, साढे ९ सयले सेवा लिए 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा चेक जाँच शिविर संचालन गरिएको छ । वडा नम्वर १४ नुवाकोटडाँडाबाट सुरु भएको आँखा जाँच शिविर वडा नम्वर २ को सेवा केन्द्रमा पुगेर सम्पन्न भएको हो । शिविर मार्फत ९ सय ३० जनाको आँखा जाँच गरिएको छ । पहिलो दिन २२ गते वडा नम्वर १४ को नुवाकोटडाँडामा भएको शिविरमा १ सय ९३ जनाले सेवा लिएका थिए । 

त्यस्तै वडा नम्वर १२ को आधारभुत स्वास्थ्य केन्द्रमा भएको शिविरमा १ सय २६, वडा नम्वर १० नगर अस्पताल चिन्नेवगरमा भएको शिविरमा २ सय ३ जनाले, वडा नम्वर ६ को प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा भएको शिविरमा १ सय ९२ जना र वडा नम्वर २ मा रहेको सेवा केन्द्रको भवनमा संचालित शिविरमा २ सय १६ जनाले आँखा जाँच सेवा लिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिकाको आयोजना, ग्लोबल मेडिकल फाउन्डेशन अस्ट्रेलियाको आर्थिक सहयोग र आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । शिविर मार्फत ३ सय ६ जनालाई निःशुल्क चश्मा पनि वितरण गरिएको छ । विभिन्न ठाउँमा भएको शिविरमा आँखा परीक्षण गराएका मध्य १ सय ४३ जनामा मातियाबिन्दु पुष्टि भएको छ । मोतियाबिन्दु भएकाहरुको लागि २८ र २९ गते वडा नम्वर २ को सेवा केन्द्रमा निःशुल्क आँखा अप्रेसन शिविर संचालन हुने बताइएको छ । 

राप्ती आँखा अस्पताल तुलसीपुरबाट आउने डा. शुलक्ष्मी कटुवालको नेतृत्वको टालीले अप्रेशन शिविरमा सेवा दिने छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update