Kakhara सबैको खबर सम्पूर्ण खबर
‘उत्पीडित जनताका मुद्दा सम्बोधनका लागि स्वतन्त्र उम्मेदवारी’
स्वतन्त्र उम्मेदवारद्वारा पत्रकार सम्मेलन कार्यक्रममा सहभागि अतिथिहरु ।

उत्पीडित जनताका मुद्दालाई सम्बोधन गर्नेका लागि स्वतन्त्र उम्मेदवारी दिएको रुकुम पूर्व प्रदेश सभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवारका समर्थकले जनाएका छन् । बिहीबार सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित बिएलबी होटलमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । 

स्वतन्त्र उम्मेदवारका समर्थक रामसुर बुढा मगरले उत्पीडित क्षेत्रका जनताका मुद्दालाई पूरा गर्नका लागि जनता प्रति उत्तरदायी रहेर राजनीति गर्दै आएका इमान्दार व्यक्तिलाई सहयोग गरी स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको बताउनुभयो । माओबादी पार्टीले विगद १० वर्षे जनयुद्ध सञ्चालन गर्दा उठाएका जनताका मुद्दा पछिल्लो चरणमा ओझेलमा पर्दै आएपछि आफूहरू बाध्य भएर स्वतन्त्र रूपमा उम्मेदवारी दिनु पुगेकाे बुढा मगरले बताउनुभयो । 

“इच्छा तथा चाहना नहुँदा नहुँदै पनि पार्टीले उत्पीडित जनताका मुद्दा बिर्सर्दै गयो, हरेक बैठकमा पार्टी नेतृत्वसँग कुरा राखियो तर सम्बोधन भएन बुढा मगरले भन्नुभयो-अन्तिम अवस्था सम्मपनि पार्टी नेतृत्वलाई जानकारी गराउँदै आउँदा समेत उत्पीडित समुदायका नेतृत्वलाई पछि पार्दै पैसा र पहुँचको आधारमा व्यक्ति केन्द्रीत हुँदै आयो । त्यसकारण अन्तिममा आएर बाध्यकारी भई पछि पारिएको क्षेत्रको उम्मेदवारलाई साथमा लिइ चुनावी मैदानमा होमिएका छौँ ।”

सर्वहारा जनताका मुद्दा भुल्दै, पार्टीका मुद्दालाई मार्न पार्टी नेतृत्व लागि परेकाे उहाँले बताउनुभयाे । कुनै व्यक्तिको फाइदाको लागि नभएर पार्टी भित्रको अराजकतालाई सचेत गराउनका लागि स्वतन्त्र उम्मेदवारी दिइएको स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर (अजयशक्ति)ले बताउनुभयो ।

“पार्टी भित्र इमान्दार जनता प्रति उत्तरदायी भएका नेताकार्यकर्तालाई अवसर नदिई पैसा भएका व्यक्ति केन्द्रीत भएकोले स्वतन्त्र उम्मेदवार दिइएको हो उहाँले भन्नुभयो-विगत देखि पनि इमान्दारीताका साथ पार्टीमा काम गर्दै आइयो । अब जनताका जनप्रतिनिधि भएर उत्पीडित जनताका मुद्दालाई सम्बोधन गर्ने छु ।” 

पार्टी मुद्दा विहिन हुँदै आएपछि जनयुद्ध कालमा पार्टीका मुद्दालाई पूरा गर्न आफूहरू लाग्ने अर्का स्वतन्त्र उम्मेदवारका समर्थक संगम रोका मगरले बताउनुभयो । स्वतन्त्र उम्मेदवार सुरुल पुन मगरलाई समर्थन गर्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका कार्यालय सदस्य रामसुर बुढामगर, प्रदेश सदस्य संगम रोका मगर, कालिप्रसाद रोका मगर लगायतले उम्मेदवारी फिर्ता लिनुभएको थियाे ।

स्वतन्त्र उम्मेदवार पुन मगरलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले विद्युतको चिम चिन्ह प्रदान गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्री मगर, समर्थक विष्णुजंङ शाह, जयबहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो । 


 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update