रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा खानेपानीको समस्या भएको छ । गत असोज १९ गते खसेको पहिरोले खानेपानीको ट्याङ्की र पाईप लाईनहरु बगाएपछि साबिक ३ नम्बर वडाको पुनडेरामा खानेपानीको समस्या भएको हो । गाउँदेखि करिब २ किलोमिटर टाढाबाट आउने खानेपानीको मुहानमा रहेको ट्याङ्की पहिरोले बगाएपछी खानेपानीको समस्या भएको स्थानीय टोपबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार साबिक ३ नम्बर वडाका ५० घरपरिवारलाई खानेपानीको समस्या भएको छ । १÷२ दिन अगाडि वर्षातको समयमा जम्मा भएको पानी खाएपनि वर्षा सकिएपछि भने डेड घण्टाको लामो बाटो हिडेर पानी लिनु पर्ने वा नजिकैको सानो मुहानमा घन्टौं लाईन बस्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
पानी नआउँदा नियमित सरसफाई गर्न, पशुचौपायालाई खुवाउन पनि समस्या भएको अर्का स्थानीय मिलन पुनले बताउनुभयो । खानेपानीको समस्या समाधानको लागि वडा र पालिकामा समेत खबर गरिएको स्थानीयले बताएका छन् ।