सत्ता गठबन्धनका तर्फबाट आगामी निर्वाचनका लागि रुकुम पश्चिम प्रदेश सभा ‘ख’ का उम्मेदवार राजकुमार शर्माले चुनावी प्रचारलाई जारी राख्नुभएको छ । बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएसंगै सोही दिन देखि उहाँ चुनावी प्रचारमा निस्किनुभएको हो । उहाँले त्रिवेणी गाउँपालिकाबाट प्रचार सुरु गर्नुभएको छ । घरदैलो, चुनावी सभा तथा भेटघाट मार्फत उहाँले प्रचारलाई तिव्रता दिनुभएको छ ।
अहिलेसम्म त्रिवेणीका ४ वटा वडामा पहिलो चरणको चुनावी प्रचार सकिएको उम्मेदवार शर्माले बताउनुभयो । चुनावी प्रचारका लागि आज उहाँ सहितको टोली त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ६ का विभिन्न ठाउँमा पुग्दै छ । शर्मा सहितको टोलीले बिहान त्रिवेणी ६ र ३ मा पर्ने झुल्नेटा बजारमा घरदैलो गरेको छ । त्यसपछि वडा नम्बर ६ को विताडाँडामा चुनावी भेटघाट तथा अन्तरक्रिया भएको छ । हिजो वडा नम्बर ८ र ७ मा प्रचारात्मक कार्यक्रमहरु भएका थिए ।
पहिलो चरणमा निर्वाचन क्षेत्रका सबै वडामा पुगेर जनतासंग भेटघाट गर्ने योजना अन्तरगत कार्यक्रमहरु भइरहेको उहाँले बताउनुभयो । जनतासंग भेटघाट गर्ने र आफ्नो उम्मेदवारीका बारेमा जानकारी गराइरहेको उम्मेदवार शर्माले बताउनुभयो । आफु गठबन्धनको साझा उम्मेदवार रहेकोले सबै मतदाताहरुसंग एक चरणको भेटघाट र छलफल गर्ने गरी प्रचारमा निस्किएको उहाँले बताउनुभयो ।
सत्ता गठबन्धनका उम्मेदवार भएपनि जिल्लामा गठबन्धन दल सहभागी भएर भने प्रचार सुरु भएको छैन् । जिल्लामा गठबन्धन दलहरु कसरी निर्वाचनमा केन्द्रीत हुने भनेर छलफलकै क्रममा रहेको सत्ता गठबन्धन दलहरु बताउँछन् । ‘गठबन्धनमा छलफल हुँदै गर्छ, एक चरण जनतासंग भेट्नुहोस भनेर पार्टीका उम्मेदवारलाई गाउँ पठाएका छौं, माओवादी केन्द्र रुकुम पश्चिम निर्वाचन परिचालन समितिका संयोजक गोपाल शर्मा अनलले भन्नुभयो–गठबन्धनमा निर्णय भयो भने सोही अनुसार प्रचारमा निस्किन्छौं ।’
अहिले भेटघाट र साना कार्यक्रम भइरहेकामा कार्तिक १३ गते देखि ठूला सभा गर्ने गठबन्धनको तयारी छ । उक्त कार्यक्रम गठबन्धन दल एउटै मञ्चमा बसेर गर्ने तयारी भइरहेको नेकपा माओवादीको निर्वाचन परिचालन समितिले जनाएको छ । प्रदेश सभा ख का उम्मेदवार शर्माको टोलीमा समानुपातिक तर्फका उम्मेदवार मिलन खड्का र झक्कुप्रसाद घर्ती पनि रहनुभएको छ । प्रचारमा पार्टी नेता, कार्यकर्ता, सहायक संगठन, भातृ संगठनको पनि संलग्नता छ ।