स्वर्गीय वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम स्मृतिग्रन्थ विमोचन गरिएको छ । गौतमको वार्षिक पुण्यतिथिको अवसरमा स्मृतिग्रन्थ विमोचन गरिएको हो । ग्रन्थको जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले विमोचन गर्नुभयो ।
वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम स्मृति प्रतिष्ठानले आज मुसीकोट नगरपालिका वडा नम्बर १ खलंगास्थित गौतमको घरमै आयोजना गरेको कार्यक्रममा स्मृतिग्रन्थको विमोचन गरिएको हो । ग्रन्थमा स्वर्गीय गौतमको सम्झनामा विभिन्न व्यक्तिले रचेका रचनाहरु समावेश छन् ।
गौतमको परिचय, गौतमले विभिन्न समयमा रचना गर्नुभएका लेख रचना सहित उहाँको स्मृतिमा विभिन्न व्यक्तिका लेख रचनाहरु ग्रन्थमा समावेश रहेको गौतमकी छोरी अधिवक्ता रमा गौतमले जानकारी दिनुभयो । वार्षिक पुण्यतिथिको अवसरमा वुवाको सम्झनामा स्मृतिग्रन्थ विमोचनका साथै प्रतिष्ठान समेत स्थापना गरिएको उहाँले बताउनुभयो ।
वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम स्मृति प्रतिष्ठानको जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले नै आजै उद्घाटन गर्नुभएको हो । वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम स्मृति प्रतिष्ठानकी संरक्षक तथा स्वर्गीय गौतमकी धर्मपत्नी भक्तकुमारी गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोती, राजनीतिक दल, आफन्त, घर परिवार, इष्टमित्र लगायतको सहभागिता रहको थियो । स्मृतिग्रन्थका बारेमा ग्रन्थका सम्पादक तथा साहित्यकार कमलमणि देवकोटले जानकारी गराउनुभएको थियो भने समिक्षा हरिप्रसाद खनालले गर्नुभएको थियो ।
कार्यक्रमको संचालन स्वर्गीय गौतमका छोरा अधिवक्ता रामचन्द्र गौतमले गर्नुभएको थियो ।।