रुकुम पूर्वका किशोरीहरुलाई शारीरिक रुपमा शसक्त बनाईने भएको छ । यसका लागि किशोरीहरुलाई आत्मरक्षा तालिम दिईदै छ । शारीरिक खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने सिपको विकास गर्न र किशोरीहरुको आत्मरक्षामा बृद्धि गर्न तालिम दिन लागिएको हो । तालिम अन्तरगत किशोरीहरुलाई तेक्वान्दो सिकाईने छ । तालिम आजबाट सुरु भएको छ । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रवहादुर ओलीले तालिमको उद्घाटन गर्नुभयो । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ४ वटा विद्यालयमा अध्यनरत ११ देखि १९ वर्ष उमेरका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन लागिएको हो ।
सदरमुकाम आसपासका चार सामुदायिक विद्यालयमा अध्यनरत १ सय २२ जना किशोरीहरुलाई तालिम दिन लागिएको सामाजिक विकास डिभिजन कार्यालयको रुकुम पूर्वका प्रशिक्षक भद्रवहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्ने गाउँपालिका ५ को रुक्मिणी मावि रुकुमकोट र कोट मावि रुमालवारा तथा वडा नं. ६ को त्रिभुवन जनता मावि छिप्रिदह र वडा नं. ३ को जनता मावि पोखराका किशोरीहरुले आत्मरक्षा तालिम पाउँदै छन् । यो तालिम तीन महिनासम्म संचालन हुने प्रशिक्षक खड्काले बताउनुभयो । हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म यो तालिम सिस्ने गाउँपालिका वडा नं. ५ मा अवस्थित रुक्मिणी माविमा संचालन हुने छ । किशोरीहरुलाई शारीरिक रुपमा बलियो बनाउने उद्ेश्यले तालिम दिन लागिएको प्रशिक्षक खड्काको भनाई छ ।
किशोरीहरुलाई अफ्ठ्यारोमा आत्मरक्षा गर्न सक्षम बनाउने यो तालिमको मुख्य उदेश्य हो । किशोरीहरुलाई कमजोर आँक्ने र उनिहरुमाथि विभिन्न प्रकारका दुव्र्यवहार हुने गरेकामा तालिमले यसमा कमि ल्याउने अपेक्षा समेत राखिएको छ । यसका अतिरिक्त अनुशासन कला पनि सिकाउन तालिमले सहयोगिको भुमिका खेल्ने विश्वास गरिएको छ ।