रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ र मुसीकोट नगरपालिका वडा नम्बर ९ को सिमानामा लाग्ने स्थानीय गैरीनेटा मेला सुरु भएकाे छ । परम्परागत रुपमा लाग्दै आएको स्थानीय गैरीनेटा मेलाकाे शनिबार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा र माओवादी केन्द्र मुसीकोट नगरपालिका अध्यक्ष धिरण सेर्पालीले संयुक्त रुपमा व्यानर पढेर उद्घाटन गर्नुभएको हो ।
मेला व्यवस्थापनको लागि मुसीकोट नगरपालिका ९ नम्बर वडा कार्यालयले ५० हजार र अर्थमन्त्री जनार्दन शर्माले ५० हजार रकम सहयोग गर्नुभएको छ । अन्य व्यक्तिले पनि सहयोग गरेको गैरीनेटा मेला व्यवस्थापन समितिको भनाई रहेको छ । दुई पालिकाको सिमानामा पर्ने भएकाले हरेक वर्ष मुसीकोट नगरपालिका ९ र त्रिवेणी गाउँपालिका २ ले आलोपालो मेला लगाउदै आएका छन् । यस वर्ष मुसीकोट नगरपालिका वडा नम्बर ९ ले मेलाको आयोजना गरेको हाे ।
मेला असोज ३१ गतेसम्म लाग्ने छ । मेलामा पुरुष भलिबल, एकल नृत्य, लोकदोहोरी र घैटोफोर प्रतियोगिता सञ्चालन हुने मेला व्यवस्थापन समितिका सचिव कमल बुढाले जानकारी दिनुभयो । उहाँका अनुुुसार पुरुष भलिबल प्रतियोगितामा छिमेकी जिल्ला रोल्पा सहित २० टिमले सहभागिता जनाएका छन् । भलिबल प्रतियोगिताम प्रथम हुनेले ५० हजार, दोस्रो २५ हजार र तेस्रो स्थान हाँसिल गर्नेले १५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै एकल नृत्यमा प्रथम स्थान प्राप्त गर्ने २ हजार, दोस्रो स्थान प्राप्त गर्नेले १५ सय र तेस्रो स्थान हात पार्ने १ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । लोक दोहोरी तर्फ पहिलो हुनेले ३ हजार, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार तथा घैटोफोर प्रतियोगिताकाे विजेताले १ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मेला उद्घाटन कार्यक्रममा मुसीकोट नगरपालिका वडा नम्बर ९ र त्रिवेणी गाउँपालिका वडा नम्बर २ का आमा समुहले झाँकी सहित प्रस्तुति राखेका थिए । मेला व्यवस्थापन समितिका अध्यक्ष प्रजित पुनको अध्यक्षमा भएको उद्घाटन कार्यक्रमको सञ्चालक खडकबहादुर केसीले गर्नुभएको थियो ।